दंश : पीडितहरूको कथा [पुस्तक समीक्षा]

ओमबहादुर रानाक्षेत्री  | २०७६ मङ्सिर १४ शनिबार | Saturday, November 30, 2019 ११:३९:०० मा प्रकाशित

दिनहुँजसो समाजमा कोही न कोही पीडित हुन्छन्। त्यही पीडालाई टपक्क टिपेर लेखक सिर्जना गर्छन्। त्यसैले कथामा धेरैजसो पीडा नै आउने गर्छ। दिनमानको ‘दंश’ कथा संग्रह तिनै पीडाहरूको संगालो हो भन्न सकिन्छ। नेपाली समाजको वर्तमान समयको चित्रण पाइने दंश कथा संग्रहमा जम्मा १८ कथा छन्।

पहिलो कथा अनुहार अनायासै हुन गएको यौन सम्बन्धले उत्पन्न परिस्थितिमाथि घुमेको छ। माओवादी युद्धको उत्तरार्धमा चौकी आक्रमण हुँदा ज्यान जोगाउन भागेको एक प्रहरीले शरण लिएको घरको युवतीसँग राति भएको सहबास र परिस्थिति कथाको अन्तमा खुलेको छ। त्यो कुरा म पात्र प्रहरीलाई पनि चिठीमार्फत् ज्ञात हुन्छ। र, बेवारिसे ठानिएको बालक उसैको भएको पुष्टि हुन्छ। 

विपन्न मुसहर भगीरामको तराईमा हिउँदमा ज्यानमारा बन्ने चिसोसँगको कथा हो घुर। सानो झोपडीमा जीवन गुजारिरहेको उसको घरमा न्यानो ओछ्यानको अभाव छ, उसको आयआस्ताले गर्जो धान्न सकेको छैन। चिसो धपाउन रक्सीको सहारा लिएको उसले स्वास्नी र आमालाई समेत रक्सी खुवाउँछ र नसामा आगो ताप्ने घुरमा घरको छानो खरानी बनाउँछ। सतहमा चिसोको कथा लागे पनि यो आर्थिक विपन्नतामा जिउने मुसहर समुदाय र तराईका विपन्न नागरिकको कथा हो जसले चिसोबाट वर्षेनी अकालै ज्यान गुमाउने गर्दछन्। 

महामारी कथामा युद्धकालमा घाइते बनेर आएका कमरेड विश्वजीतका राजनैतिक सम्भाषणले म पात्र उनीप्रति र उनले बोकेको दर्शनप्रति आकृष्ट भएको छ। उच्च नेतृत्वमा रहेका उनले केही परे सम्झिन दिएको आश्वासनले म पात्र पानीको जोहो गरिदिने माग, आशा, अपेक्षा बोकी राजधानी पसेपछि रित्तो फर्किन विवश छ। जसले आजको राजनीतिक अवस्थाको चित्रण गरको छ। योद्धासँग केही पल कथाले जनताको मुक्तिको संघर्षमा आफ्नो जीवनको परवाह नगरी होमिएकाहरूको पक्षमा बोलेको छ। जसले परिवार गुमाएको छ, जीवनको उज्यालो गुमाएको छ तिनले भोलिको चिन्ता चाहिँ व्यक्त गरेको छ। 

संसारबाट महिला गायब भयो भने के हेन्छ ? के पुरुषहरूले आजकोजस्तो जीवन बाँच्न सक्छन् ? यस्ता प्रश्नहरू चियाको बाफ कथा पढेपछि पाठकको मनमा आउन सक्छन्। महिलाबिनाको संसारको कल्पना पनि गर्न सकिन्न। तर, यही समाजमा महिलामाथि हिंसा गरिन्छ। झन् हिजोआज त प्रहरीबाटै महिला पीडित छन्। कथा संग्रहको शिर्ष कथा दंशको मूल मर्म पनि यस्तै छ। दंश कथामा प्रहरीद्वारा नै प्रहरीकी पत्नी बलात्कृत हुन्छिन्। पुलिस प्रशासनको धज्जी उडाइएको छ। संग्रहको शीर्षक कथा दंश घटना, परिवेश, उपकथा बनोटको कोणबाट उत्कृष्ट भएको छ। 

प्रेमको धरहरा २०७२ को भूकम्पमा अवसान हुन पुगेकी प्रेमिका र त्यो जोडी प्रेमयात्रीको प्रेमकथा हो। त्यस्तै गरी आधुनिक समाजमा अब पुरुष वेश्या पनि छ भन्ने उजागर गरेको छ पुरुष कथाले। पुरुषहरू बेरोजगारीको मारमा अहिलेको शहरीया महिलाको उपभोगको साधन बनेको पुष्ट्याइछ  । कथाले समाजको अँध्यारो दिशा र विचलनलाई उजागर गरेको छ। यसबेला ऊर्जावान् युवा पुरुष वेश्या बन्न विवश छन् भने शहरीया महिलामा भयावहरूपमा झाँगिदै गएको अनैतिक लहराको कहालीलाग्दो पटाक्षेप गरिदिएको छ कथाले। 

पराजित जस्तो कथाले आत्महत्या उचित नरहेको र जीवनमा धेरै गर्न बाँकी रहेको बताएको छ। वैदेशिक रोजगारीले नेपाली समाज र युवालाई डसिरहेको यथार्थ संक्रमण कथामा प्रस्तुत भएको छ। कतिले लास बन्नु परेको छ, कतिले विभिन्न रोगले पीडित बन्नु परेको छ र कतिले नैतिक विचलनले पारिवारीक जीवनको दुर्घटना तथा पैसाको बर्बादीलाई सहनु परेको छ जो कुरा कथामा आएका छन्। मूलतः वैदेशिक रोजगारीले निम्त्याइरहेको हाम्रो पीडा कथामा चित्रित भएको छ।

हामी अनलाइनको दुरुपयोगले बढेको ब्लयाकमेलिङ, हत्या र आत्महत्याको दुःखद जीवन जिउन बाध्य छौं जसलाई वेब तृष्णा कथाले बयान गरेको छ। मूलतः अनलाइनका घिनलाग्दा कृयाकलापबाट म पात्रझैं बचाउनु वेब तृष्णा कथाको आदर्श मर्म हो। निलो गुलाब अर्को उत्कृष्ट कथा हो। कथा रहस्यमय छ। यसको कथानक सुन्दर छ। कथाले बढ्दै गरेको कालो धन, अपराधमा प्रहरीको संलग्नता, खोजी पत्रकारिताको जोखिम, अनैतिक यौनकाण्डलाई चित्रण गरेको छ। पनामा पेपर्स, त्तेतीस किलो सुनकाण्ड आदिले हाम्रो वर्तमान अपराधका प्रवृतिलाई उदांगो पारेझैँ यस कथाले राज्यलाई कालो धनप्रति सजग गराउने प्रयत्न गरेको छ। 

संग्रहको अन्तिमक कथा मधेशको गर्मीमा म पात्र अन्ततः आफैसँग हुर्केको, पढेको घनिष्ठ साथी असलमबाट अपहरित भएको छ। यसैगरी रामहरिको ठूल्दाइ, अब्दुल, रामललवा, भुवन हमाल, म पात्रको बाजे कमानसिंह, जितन ठाकुर आदि पात्र मधेश आन्दोलनको लप्काको शिकार भएका घटना र प्रवृतिमाथि कथा बुनिएको छ। पात्र परिचयसहित आएको यस कथामा मधेशमा चलेको पहिचान र आत्मसम्मानको आन्दोलन र सँगै त्यसमा वनमाराझैँ हुर्किएका साम्प्रदायिकता, आग्रहपूर्वाग्रह, बदलाको भावना, अपराध, भुमिगत गतिविधिलाई मिहिन ढंगले केलाउने प्रयास गरिएको छ। कथाको बनोट, घटना र उपकथाको संयोजन आकर्षक र लोभलाग्दो छ। शब्द र वाक्यको सरलता यसको अर्को बलियो पाटो हो। त्यस आन्दोलित समयलाई यसले लिपिबद्घ गर्ने प्रयास गर्नु पनि प्रशंसनीय पक्ष हो भने हरेक नेतृत्वलाई आन्दोलनले जन्माउने जोखिम, अराजकतातर्फ पनि यसले सचेत पारेको अनुभूति हुन्छ।

सरल शब्द र वाक्यमा कथाहरू लेखिएका छन्। आगन्तुक शब्दको प्रयोगलाई स्थान दिइएको पाइन्छ जसलाई निरुत्साहित गर्नुपर्दथ्यो। व्याकरणीय शुद्धता खट्किन्छ। कथाले ससानादेखि गहन विषय सामान्य प्रस्तुति र घटना तथा उपकथाका माध्यमबाट बयान गरेका छन्। पात्र अभावमा जन्मिएका छन् र ती अभावसँग पौँठेजोरी खेल्दछन्। कतिपय पात्र पत्रकारका भूमिकामा उदाएका छन् भने परिवेशमा कफीसप हावी भएको लाग्दछ। यथार्थलाई काल्पनिकताले समेत रंग्याइएको पाइन्छ।  कथानक दोहोरिनबाट बचाउन अलि असावधान भएको लाग्दछ। 

कतिपय शब्द, वाक्य, अनुच्छेद र सन्दर्भलाई निफन्न आवश्यक देखिन्छ। यस कार्यमा सम्पादकीय पाटो गम्भीर हुनुपर्दथ्यो। समग्रमा कथा संग्रहले सामयिक यथार्थलाई अहम् स्थान दिएको छ। संग्रहले कथाकार दिनमान गुर्मछानको कथाकारिताको यात्रालाई उज्यालो देखाएको छ। 
कृतिको नाम : दंश 
विधा : कथा 
कथाकार : दिनमान गुर्मछान   
प्रकाशक : शाब्दिक बुक्स, काठमाडौं   
मूल्य : रु ३४५।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान