काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा ग्राहक र अवलोकनकर्ताको भीड बढेको छ। मंगलबारबाट सुरु भएको सोमा राखिएका छुटका कारण भिड बढेको आयोजकले बताएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार आइतबारसम्म चल्ने मेलामा विभिन्न ब्रान्डले ७५ हजारदेखि ७ लाखसम्मको छुट र सुविधा दिएका छन्। ‘मेलामा नयाँ नयाँ डिजाइनका सवारी साधनको जानकारी पाउनुका साथै छुट र सुविधा पनि पाइने भएपछि ग्राहकको भिड बढेको हो,’ एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले भने, ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष मेलामा धेरै घुँइचो छ।’
अध्यक्ष श्रेष्ठका अनुसार मेलामा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे र डोजरजस्ता ठूला सवारीका साथै पाटपुर्जाहरु राखिएका छन्। मेलामा ५० हजारभन्दा बढीले अनुमगन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए।
मेलामा चारपाङ्ग्रे सवारी अन्तर्गत भक्सवागन, हुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, किया, निसान, रेनो, इयुगिओ, स्कोडा, साङयोङ, इसुजु लगायतका छन् भने दुई पाङ्ग्रे अन्तर्गत बजाज, यामाहा, हिरो, होन्डा, टिभिएस लगायत १९ ब्रान्डका दुईपांग्रे छन्।
यसैगरी, टाटा, अशोक लेल्यान्ड, महिन्द्रा लगायत ६ ब्रान्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ। मेलामा सवारी साधनको स्पेयर पार्टस, सवारी सुरक्षा प्रविधि, लुब्रिकेन्टस र बैंक तथा वित्तीय संस्थाका पनि स्टल रहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार मेलामा सबैगरी विभिन्न ९० संस्थाका एक सय ३० वटा स्टल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।