काठमाडौं– वीरगञ्ज महानगरका कान्छा मेयर प्रत्यासी रहबर अन्सारीले महसुस गरिसकेका छन्, उनी जित्दै छैनन् । तर, प्रारम्भिक मत परिणाममा उनले जुन नतिजा निकालेका छन्, यसले उनको भावी राजनीतिक जीवन भने पक्कै सुखद हुनेछ।
माओवादी केन्द्रको संगठन निकै कमजोर छ, वीरगञ्जमा । तर, महानगरपालिकाभित्रै पर्ने पर्सा २ मा संविधानसभाको पछिल्लो निर्वाचन जितेको एमाले उम्मेदवारलाई उनले उछिनिरहेका छन् । माओवादीको तुलनामा एमालेको संगठन निकै बलियो छ । त्यत्तिकै बलिया उम्मेदवार हुन्, एमालेका बसरुद्दिन अन्सारी।
पछिल्लो संविधानसभामा पर्सा–२ बाटै माओवादी उम्मेदवारका रुपमा भिडेका बसरुद्दिन काठमाडौं र वीरगञ्ज नेसनल गरी दुई मेडिकल कलेजका सञ्चालक हुन् । कत्ति पनि कन्जुस्याइँ नगरी उनले चुनावी खर्च गरे । यी सबका बाबजुद उनीमाथि भारी परिरहेका छन्, ३१ वर्षे रहबर । भन्छन्, ‘अहिले चौथो नम्बरमा छु, तेस्रो भइन्छ कि!’
आफूले आस गरेको स्थानको मतगणना बाँकी नै रहेकाले आफ्नो बरियता सुधार हुने उनको अपेक्षा छ । मेयर जित्ने आकांक्षासहित मैदानमा ओर्लिएका थिए रहबर । त्यो अपेक्षा पूरा हुने संकेत अब मेटिइसकेको छ । कहाँ भयो त चुक ? रहबरको विश्लेषणमा यस्ता छन् ४ चुक:
१) मतदातामा चेतना
महानगर बनाइँदा वीरगञ्जका धेरै ग्रामीण भू–भाग पनि गाभिए । जहाँ शिक्षा र चेतनाको स्तर न्यून नै छ । सचेत मतदाताको अभावमा रहबरले आफ्ना कुरा बुझाउनै सकेनन् । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार निर्माण जस्ता एजेण्डाबारे त्यो समुदायलाई बुझाउन नसक्नु नै प्रमुख कमजोरी रह्यो । ती मतदाताहरुलाई आफ्नो दैनन्दिनका समस्या पार लगाउनेभन्दा अरु कुरामा खासै रुची थिएन।
२) कमजोर संगठन
पर्सा क्षेत्र नम्बर १ र २ गाभिएर बनेको छ वीरगञ्ज महानगर । पछिल्लो संविधानसभाकै मत परिणाम हेर्ने हो भने माओवादी पर्सा–१ का माओवादी उम्मेदवार बलिरामप्रसाद तेलीको जमानत जफत भएको थियो भने २ का बसरुद्दिन अन्सारीले मुस्किलले जमानत जोगाएका थिए । यस्तो कमजोर संगठन भएको अवस्थामा रहबरले जति मत ल्याइरहेका छन्, त्यसमा पार्टीभन्दा उनको व्यक्तित्वकै प्रभाव देखिन्छ । माओवादीकै उपमेयर उम्मेदवारभन्दा उनको मत बढी आइरहेको तथ्यले पनि यसलाई पुष्टि गर्छ।
३) पुरानाकै भर
धेरैजसो मतदाताले उनलाई ‘कलिलो’ उम्मेदवार ठानिदिए । कतिपय पाका मतदाताले त उनलाई भने पनि, ‘यसपटक त होइन, अर्कोपटकको मेयरमा तिमी पक्का ।’ यो उमेरको केटोले त्यत्रो महानगर धान्ला र ? भन्ने पनि भेटिए । जनताले पुरानो अनुहार बिर्सन र नयाँ अनुहारलाई पत्याउन सकेनन्।
४) भड्किलो प्रचार
समाजमा एउटा मान्यता स्थापित गर्ने उद्देश्यसहित उम्मेदवार बनेका थिए, रहबर। त्यसैले अन्य उम्मेदवारको तुलनामा उनले देखिने खर्च गरेनन् । ‘रक्सी, मासु र पैसासम्मको कारोबार हुने रहेछ । चुनाव प्रचार निकै भड्किलो र खर्चिलो थियो अरु उम्मेदवारहरुको,’ चुनावको पहिलो अनुभव लिएका रहबरले भने । खर्चको रवाफमै पनि बाँडिए कतिपय मतदाता।
अबको रहबरको राजनीतिक यात्रा कसरी अघि बढ्ला त ? स्वाभाविक रुपमा अबको उनको ध्यान प्रदेश र प्रतिनिधिसभाको चुनामा हुनेछ । तर, उनी भन्छन्, ‘हेरौं, पार्टीले के जिम्मेवारी दिन्छ । त्यसमा भर पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।