म्याड्रिड– स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। रियललाई ला लिगाको पाँचौ चरणको खेलमा रियल बेटिसले १–० गोलले पराजित गरेको हो।
बेटिसको जितमा एन्टोनियो सानाब्रियाले दोस्रो हाफको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरे। एन्टोनियो बारागानको क्रममा सानाब्रियाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल स्तब्ध बनेको थियो।
खेलमा रियलले बेटिसमाथि खेलको अन्त्यसम्म दबाब दिए पनि फिनिसिङ चुस्त हुन सकेन। रियलले खेलमा २७ पटक गोल गर्ने प्रयास गरेको थियो।
सिजनको सुरुवातमै प्रतिबन्धमा परेका रियलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पुनरागमन राम्रो हुन सकेन।
बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपमा रेफ्रीलाई धेकेलेपछि रोनाल्डोलाई ५ खेलको प्रतिबन्ध लगाइएको थियो। सुपर कपका दोस्रो लेगसहित रोनाल्डोले ला लिगाका सुरुवाती चार खेल गुमाएको थिए।
बेटिसविरुद्ध सिजनमा पहिलो पटक लिग खेलेका रोनाल्डोको दोस्रो प्रहारलाई बेटिसका गोलकिपर एन्टोनियो एडानले उत्कृष्ट बचाउ गरेका थिए।
बेटिसले रियलको घरेलु मैदानमा सन् १९९८ पछि पहिलोपटक जित हात पारेको हो।
हारपछि सातौं स्थानमा झरेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ। रियलको ८ अंक छ भने लागतार ५ जित निकालेको बार्सिलोनाको १५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।