



उमेर समूहका दुई खेलमा प्रतिस्पर्धा गरेको नेपाली फुटबलका लागि बुधबारको दिन खराब रह्यो। काठमाडौंमा भएको एएफसी युथ–१६ च्याम्पियनसिपको समूह ‘डी’ अन्तर्गत हलचोकस्थित सशस्त्र प्रहरीको फुटबल मैदानमा भएको छनोटमा जहाँ नेपाललाई इराकले १–० ले पराजित गर्यो, त्यसको १५ मिनेटपछि साफ युथ–१८ च्याम्पियनसिपमा १–० कै नतिजाका बीच भुटानले नेपालमाथि ऐतिहासिक जित दर्ता गरायो।
भुटान विरुद्धको पराजय नेपालका लागि यस अर्थमा पनि पीडादायक थियो, नेपाल गत वर्षको च्याम्पियन मात्र थिएन, भुटानसँग अहिलेसम्म नेपालले कुनै प्रतियोगितामा हार ब्यहोर्नु परेको थिएन्। पहिलो पटक नेपाल भुटानसँग पराजित भएको थियो।
उमेर समूहबाटै खारिएर आएका खेलाडी नै पछि राष्ट्रिय टोलीमा पर्ने हुन्। यसैले उमेर समूहको नजिताले त्यस देशको फुटबल भविष्यलाई इंकित गरेको हुन्छ।
तीन वर्षदेखि नेपालमा ‘ए’ डिभिजन लिग हुन सकेको छैन। अझ, फुटबलको जिम्मा लिएर बसेका अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको फितलो व्यस्थापनका कारण खेलाडीले एक्सपोजर पाउन सकेका छैनन्।
इराकसँगको नजितालाई केही विश्लेषकले स्वभाविक मानेका छन्। तर, भुटानसँगको हारले नेपाली फुटबलको स्तर खस्कदैँ गएको तर्फ संकेत गरेको सबैको बुझाई छ। नेपाली राष्ट्रिय टिममा पूर्व कप्तान हरि खड्का भुटानसँग पराजित हुनु दुखद् घटना भएको मान्दछन्। र, यसले नेपाली फुटबलको व्यवस्थापन फितलो भएको बताउँछन्।
‘पछिल्लो तीन वर्षमा भुटानले पूर्वाधार तथा खेलाडी उत्पादनमा ध्यान दिएको छ,’ खड्का भन्छन्, ‘नेपालमा नीति मात्र बनाइन्छ तर लागु हुँदैन्।‘
बुधबार भएका दुबै प्रतिस्पर्धामा नेपालको बल ’पोजिसिनिङ’ र ‘कन्ट्रोलिङ’ खराब देखिएको थियो। नेपाली खेलाडीहरु उपयुक्त स्थानमा बल पास गर्न सकिरहेका थिएनन्। न उनीहरु बललाई राम्रोसँग लिन नै सकिरहेका थिए। खड्का पनि दुबै खेलमा नेपालको प्रदर्शन खराब भएको तर्क गर्छन्।
‘नेपाली फुटबलको समस्या नै ग्रास रुट लेभलमा ध्यान दिन नसक्नु हो’, उनी भन्छन्।
नेपाली फुटबलका जानकार नवीन पान्डे पनि उमेर समूहमा नेपालले प्रगति गर्न नसकेको निर्धक्क बताउँछन्। उनको भनाई छ, ‘नेपालको ग्रासरुट फुटबल अन्धकारमय छ। खेलाडी राम्रा भए पनि त्यसको व्यवस्थान हुन सकेको छैन।’
उनी उमेर समूहमा योजनासहित लामो समय काम गर्न सक्ने क्षमतावान प्रशिक्षक राख्नु पर्ने तर्क गर्छन्। ‘उमेर समूह भनेको खेलाडीको मनोविज्ञानसँग सम्बन्धित हुन्छ,’ पान्डे भन्छन्, ‘त्यसको लागि खेलाडीलाई बुझ्ने प्रशिक्षकले निरन्तर प्रशिक्षण दिनुपर्छ।’
उनी फुटबल व्यस्थापनमा छिटो सुधार आएन भने यसले नेपाली फुटबलको विकाशलाई थप अवरुद्ध पार्ने बताउँछन्। ‘नेपाल र भुटानको तुलना नगर्दा पनि हुन्छ,’ पान्डे भन्छन्, ‘उनीहरुले विकासलाई लागि लामो भिजन बनाए। हामीसँग भिजन नै छैन। यहाँसम्म खेलाडीको देनले आइपुग्यौं।’
एन्फाले नेपाली फुटबलको विकाश र विस्तारका लागि चुस्त व्यवस्थापन बनाउनु पर्ने र भिजनसहितको योजना सार्वजनिक गर्नु पर्ने आवश्यकता खड्िकसकेको छ। यही हुन नसकेको कारण नेपाली युवा टोलीले पहिलो पल्ट भुटानसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा हार बेहोर्नु पर्यो। भोली सिनियर खेलाडीले पनि भुटानसँग पराजय नभोग्ला भन्न सकिने अवस्था छ्रैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।