काठमाडौं– भुटानले नेपाल विरुद्ध पहिलो ऐतिहासिक जित हात पारेको छ । भुटानको राजधानी थिम्पुमा जारी साफ युथ–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपाललाई १–० ले पराजित गर्ने क्रममा भुटानले इतिहास रचेको हो।
भुटानले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पराजित गर्न सकेको थिएन । ८७ मिनेटमा उर्गेन वान्चुकले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई ऐतिहासिक जित दिलाए । ८५ मिनेटमा नेपाली खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो।
यसअघि पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाली युवा खेलाडीले लय समात्न नसक्दा घरेलु टोली केही हावी देखिएको थियो।
नेपाललाई हराएसँग लगातर २ खेलमा जित निकालेर भुटान शीर्ष स्थानमा उक्लिएको छ। भुटानले पहिलो खेलमा माल्दिभ्सलाई पनि १–० ले नै हराएको थियो। नेपालसँगै आयोजक भुटान, भारत, माल्दिभ्स र बंगलादेश गरी ५ टिमबीच राउन्ड रोबिनको आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा हुँदैछ। बढी अंक बटुलेर शीर्ष स्थानमा रहने टिमलाई विजेता घोषणा गरिनेछ।
नेपाल प्रतियोगिताको साविक विजेता हो। पहिलो खेलमै पराजित भएपछि नेपालको उपाधि रक्षा गर्ने अभियानमा धक्का लागेको छ।
नेपालको बाँकी खेल
६ असोज – माल्दिभ्सविरुद्ध
९ असोज – बंगलादेशविरुद्ध
११ असोज – भारतविरुद्ध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।