काठमाडौं- काठमाडौंमा जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको समूह 'डी'को खेलमा डिफेन्डिङ च्याम्पियन इराकले नेपाललाई १ - ० ले पराजित गरेको हो।
इराकका सलाह गाजीले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। नेपालका गोलकिपर विशाल सुनारको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए। डिफेन्डरले छोडिदिएको बलमा विशालले बल नियन्त्रणमा लिन ढिलो गरेपछि सलाहले बल खोसेर गोल गरेका थिए।
पहिलो हाफमा नेपालको प्रदर्शन फितलो थियो। समूह 'डी'कै अर्को खेलमा भारतले प्यालेस्टाइनलाई ३-० गोलअन्तरले पराजित गर्यो।
चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ। राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ।
इराकपछि नेपालले ६ असोजमा भारतसँग र ८ असोजमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।