काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अब राष्ट्रपति विद्यादेवी भन्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको कार्यकक्षमा रहने टेबुलमा नेपाल एयरलाइन्सको नमुना विमान राख्ने भएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको टेबुलमा विदेशी एयरलाइन्सको नमुना विमान रहेको फेला पारेसँगै निगमले नेपाल एयरलाइन्सकै नमुना विमान राख्ने तयारी गरेको हो।
निगम कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको प्रचार तथा प्रवर्धनका लागि राष्ट्रपतिदेखि प्रधानमन्त्रीको टेबुलमा नेपाल एयरलाइन्सको नमुना विमान राख्ने तयारी भएको छ।
पहिलो चरणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीस, राष्ट्रिय सभाका अध्यक्ष तथा मन्त्रीहरुको कार्यकक्षमा नेपाल एयरलाइन्सको नमुना विमान राख्ने गरी निर्माणको काम भएको खरेलले जानकारी दिए। यसले नेपाल एयरलाइन्सको प्रवर्धन र प्रचारमा समेत सहयोग पुग्ने खरेलको दाबी छ।
अहिले राष्ट्रपति, प्रधानमन्त्री तथा सरकारी अफिसमा विदेशी एयरलाइन्सको नमुना विमान रहेको स्मरण गर्दै तत्काल नै नेपाल एयरलाइन्सको नमुना विमान राख्ने काम अगाडि बढेको उनको भनाइ छ।
‘कतिपय भिभिआइपीको कार्यकक्षमा त कतार एयरको नमुना विमान छ,’ उनले भने, ‘यसले हाम्रो राष्ट्रिय झन्डा पहराउँदै विश्वको विभिन्न गन्तव्यमा पुग्ने नेपाल एयरलाइन्स समेत अपमान भइरहेको छ।’
पहिलो चरणको सरकारी अफिसमा नेपाल एयरलाइन्सको नमुना झन्डा राख्नेका काम गर्ने र दोस्रो चरणका कुटनीतिक नियोगको कार्यालयमा समेत नेपाल एयरलाइन्सको नमुना विमान राख्ने काम थालिने खरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।