बार्सिलोना- स्पेनिस ला लिगामा उत्कृष्ट लयमा देखिएको बार्सिलोनाले शतप्रतिशत नतिजा निकाल्ने क्रममा लगातार पाँच खेलमा जित निकालेको छ । बार्सिलोनाले मंगलबार राति भएको खेलमा एइबारलाई ६-१ गोलले पराजित गर्यो।
तर, एबइबारविरुद्ध मैदान उत्रनुअघि बार्सिलोनाका खेलाडीले लगाएको जर्सीका कारण क्लबको मजाक उडाइएको छ । यसै सिजन क्लबमा आबद्ध भएका फ्रेन्च फरवार्ड ओस्मान डेम्बेलेलार्इ प्रोत्साहन दिने उद्देश्यले बार्सिलोनाका खेलाडीहरुले 'करेज ओस्मान' अंकित जर्सी लगाएर 'वार्मअप' गरेका थिए । 'वार्मअप' पछि खेलाडीहरुले त्यही जर्सीमा सामूहिक फोटो सेसन समेत गरेका थिए।
डेम्बेले ९ करोड ६८ लाख पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बार्सिलोनामा आबद्ध भएका थिए । तर, सिजन सुरुवात भए लगत्तै डेम्बेले घाइते हुन पुगे । डेम्बेले गत साता गेटाफे विरुद्ध खेलमा घाइते भएका थिए। हामस्ट्रिङ समस्याबाट ग्रसित डेम्बेले साढे तीन महिना मैदान बाहिरै रहनेछन् । तीन महिना मैदान बाहिर रहने भएपछि बार्सिलोनाका खेलाडीले डेम्बेलेलाई हौसला दिन जर्सी लगाएका हुन्।
तर, सोसल मिडियामा भने बार्सिलोनाको मजाक उडाइएको छ । एक जनाले लेखेका छन्- 'उनी हामस्ट्रिङबाट ग्रसित हुन्, मर्न लागेका होइनन् ।' अर्काले लेखेका छन्- 'उनी सामान्य चोटबाट ग्रसित छन्, दीर्घ रोग लागेको होइन ।' एक प्रयोगकर्ताले बार्सिलोनाको व्यवस्थापन आत्तिएको टिप्पणी गर्दै लेखेका छन् 'यो क्लबलाई के भएको हो !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।