रामग्राम स्तुप क्षेत्रमा रहेका संरचनाबारे भौगर्भिक अध्ययन सुरु

नेपाल लाइभ | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 १०:१५:०० मा प्रकाशित

नवलपरासी- भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम-७, उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) सुरु भएको छ।

रामग्राम नगरपालिका-७, उजौनीस्थित भगवान गौतम बुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे सुरु भएकोे हो। यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो, जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव ५ मिटर रहेको छ।

युनेस्कोमार्फत युके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरहाम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको हो। यसका लागि बेलायतबाट विज्ञहरुको टोली यहाँ आएर कामको सुरुवात गरेका हुन्। टोलीले आगामी मंसिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ।

यहाँ रामग्राम स्तुप क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु कुन क्षेत्रसम्म फैलिएका छन्, यसको बृहद् क्षेत्रमा जियोफिजिक्स सर्भे गरिँदैछ। जसको लक्ष्य आगामी दिनमा व्यापक रुपमा यस क्षेत्रको अनुसन्धान गर्नु रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउँछन्।

नेपालका सरकारी निकायहरुमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेसिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन्। सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरहाम विश्वविद्यालयबाट विज्ञको टोलीले काम गरिरहेका छन्।

भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमिनको सहतबाट करिब दुई मिटरभित्र सम्मको बनोटको अवस्थालाई तस्बिर वा एक्स-रे सरह कैद गर्न सकिन्छ। जसबाट सो रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पुर्‍याउन मद्दत पुग्दछ। सर्भेबाट जमिनलाई कुनै पनि खनजोत नगरी जमिनमुनि रहेको भग्नावशेष अवस्था पत्ता लगाउने गरिन्छ।

कुन-कुन क्षेत्रमा कस्ता-कस्ता भग्नावशेष तथा पुरातात्विक वस्तुहरु रहेका छन्, सो पत्ता लगाउन सकिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती बताउँछन्। यसपटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन् तथा अन्वेषणमा सहज हुनेछ। यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ।

यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो। यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकुँडा लगायतका विभिन्न भग्नावशेष यस अगावै फेला परिसकेका छन्। रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुनः जियोफिजिक्स सर्भेको काम सुरु गरिएको हो। स्तुप वरपरको क्षेत्रमा बृहद् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ। जसबाट अब रामग्राम स्तुपको विकास तीव्र गतिमा हुने आशा पलाएको छ।

रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ। भगवान गौतम बुद्धका ७ वटा अस्तुधातुमध्ये एउटा मात्र सिङ्गो अस्तुधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ। यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि सुरु भएको हो।

चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी)को यात्रा विवरणका आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका ८ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरिएको यसै क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ। (पुरुषोत्तम सुवेदी/रासस)