शिशिर ढकाल
काठमाडौं- प्रमुख राजनीतिक दलहरुले प्रदेशसभा र प्रतिनधिसभा निर्वाचनको लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका छन्।
मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार छनोट गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रले गृहकार्य सुरु गरेका हुन्। मधेस केन्द्रित दलहरुले भने दसैँपछि प्रक्रिया प्रारम्भ गर्ने बताएका छन्।
कांग्रेसको केन्द्रीय कार्यमसम्पादन समितिले असोज १३ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ। कांग्रेसले उम्मेदवारको छनोट गर्दा प्रत्यक्षतर्फ महिलासहित बढीमा तीन जना र समानुपातिकतर्फ पनि महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न भनेको छ। सम्भावित उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई आधार मानेर दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम सिफारिस गर्न कांग्रेसले निर्देशन दिएको छ।
पार्टीको तेह्रौँ महाधिवेशनमा गठन भएका गाउँ/नगर समितिले असोज १० गतेभित्र क्षेत्रमा र क्षेत्रले असोज १३ गतेभित्र जिल्लामा पठाउनुपर्नेछ। जिल्लाले क्षेत्रबाट आएको सिफारिसमा आफ्नो रायसहित असोज १७ गते केन्द्रमा पठाउनुपर्ने गरी कांग्रेसले सर्कुलर पठाएको छ। 'असोज २९ भित्र निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची पेस गर्नुपर्नेछ। हामी २६ गतेभित्र उम्मेदवारको नामावली टुंगो लगाउने गरी गृहकार्य गरिरहेका छौं,' पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने।
एमालेले भने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिसको मापदण्ड बनाउन केन्द्रीय कमिटी बैठक बोलाएको छ। असोज ६ देखि ८ गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा छलफल गरेर उम्मेदवार सिफारिसका लागि मापदण्ड बनाउने भएको हो। मापदण्ड तयार गरेपछि दसैँपछि उम्मेदवारको नामावली पठाउने गरी जिल्ला कमिटीलाई सूचित गर्ने पार्टीको तयारी रहेको सचिव योगेश भट्टराईले बताए। 'केन्द्रीय कमिटीको बैठकले दुई दिनमा उम्मेदवार छनोटको मापदण्ड बनाउँछ र केन्द्रमा सिफारिस गर्दा त्यसैलाई आधार मानेर दसैँपछिको मिति तोक्ने पार्टीको तयारी छ,' सचिव भट्टराईले भने।
यता माओवादी केन्द्रमा भने जिल्ला कमिटीले उम्मेदवार छनोटको गृहकार्य गरिरहेका छन्। केही जिल्लामा सर्वसम्मतिले उम्मेदवार छनोट भएको प्रवक्ता पम्फा भुसालले बताइन्। माओवादी केन्द्रले दसैँलगत्तै जिल्ला कमिटीले केन्द्रमा पठाएको नामावलीको टुंगो लगाउने तयारी गरेको छ। माओवादी केन्द्रले समावेशी समानुपातिक सिद्धान्तलाई आधार मानेर नामावली सिफारिस गर्न भनेको छ। 'जिल्ला कमिटीले केन्द्रमा नाम सिफारिस गरिरहेका छन्। ती नामावलीलाई दसैँपछि हामी टुंगो लगाउछौँ,' प्रवक्ता भुसालले भनिन्।
मधेस केन्द्रित दलले भने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बढी केन्द्रित भएकाले अहिलेसम्म केही तयारी अघि बढाएका छैनन्। राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमले दसैँपछि प्रक्रिया अघि बढाउने तयारी गरेको बताएका छन्।
यस्तो छ आयोगको कार्यतालिका
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची असोज २९ गते पेश गर्नुपर्ने कार्यतालिका प्रकाशित गरिसकेको छ। सूची पेस भएपछि असोज ३० गते उम्मेदवारको बन्दसूची सच्याउन राजनीतिक दललाई सूचित गर्ने, कात्तिक ६ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने, कातिक १३ गते उम्मेदवारको बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा फिर्ता निवेदन दिने, कात्तिक १४ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने गरी निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचन कार्यतालिका बनाएको छ।
त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली आयोगमा पेस गर्न कात्तिक १४ गतेको समय प्रदान गरिएको छ भने उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने मिति कात्तिक १७ गतेका लागि तोकिएको छ। त्यस्तै, उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने मिति कात्तिक १८ गते छ। आयोगले उम्मेदवारको दाबी विरोध जाँचबुझ गरी अन्तिम बन्द सूची मंसिर ३ गते प्रकाशित गर्नेछ।
प्रत्यक्षतर्फ भने मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता कातिक ५ गतेका लागि तोकिएको छ भने उम्मेदवारलाई निर्वाचन चिह्न कात्तिक ८ गते प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको छ।
यसैगरी, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा कातिक १९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हिमाली र उच्च पहाडी ३३ जिल्लामा मंसिर १० गते बाँकी ४५ जिल्लामा मंसिर २१ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।