सिरहा- हालसम्मको नतिजा अनुसार सिरहामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ।
१८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले ८ वडा जितेको छ। नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले ३/३ वडामा जित हात पारेका छन्। नेपाली कांग्रेस र राजपाले २/२ वडा आफ्नो पक्षमा पारेका छन्।
सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् भने धनगढीमाई नगरपालिका–३ मा माओवादीकै देवन साह विजयी भएका छन्।
अर्नमा गाउँपालिका–१ मा गफार मियाँ विजयी भएका छन् भने अर्नमा–२ मा गंगाप्रसाद महतो माओवादीका तर्फबाट विजयी भएका छन्।
मिर्चैया नगरपालिका–१ मा धनिकलाल यादव, विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव माओवादीबाटै प्यानलसहित विजयी भएका छन्। कर्जन्हा नगरपालिका–१ र २ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र कपलेश्वर यादव विजयी भएका छन्।
सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव विजयी भए। धनगढीमाई नगरपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन्। कर्जन्हा–२ मा पनि एमालेका गणेशकुमार अधिकारी विजयी भएका छन्।
यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको १/१ वडामा विजय हासिल गरेको छ।
औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर, भगवानपुर गाउँपालिका–१ का बद्रीनारायण यादव, विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादवले प्यानलसहित बाजी मारेका छन्।
यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली कांग्रेसका खुशीलाल साह, लहान नगरपालिका–२ मा शियाराम यादव विजयी भएका छन्।
सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। कल्याणपुर नगरपालिका–१ मा राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा जयराम कामती विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।