डडेल्धुरा- बझाङको बुगल नगरपालिमा निर्माणाधीन कालङ्गागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन्।
उनीहरू आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र थुनिएका थिए। फसेकाहरूको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो।
घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौँबाट उद्धार टोली झिकाइएको थियो।
सोमबार दिउँसो हेलिकोप्टरमार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले जानकारी दिए।
सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका-३ का कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका-६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका-१ का शेरसिंह धामी छन्।
अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।