काठमाडौं- बझाङको कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीन जनाको शव प्रहरीले निकालेको छ। सुरुङमा फसेर हराइरहेका एक जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका-२ दाडिम दहबगरमा रहेको कालंगा जलविद्युतको निर्माणाधीन सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए।
प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।
दैलेख जिल्लाका कर्णबहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी सुरुङमा बेपत्ता भएका थिए।
उनीहरु सुरुङभित्र काम गर्नको लागि गाडीसहित पसेका र काम गर्ने क्रममा एक्कासी गाडी स्टार्ट बन्द भएपछि काम गरिरहेका उनीहरुलाई अक्सिजन अभावका कारण मृत्यु भएको आशंका गरिएको छ।
उनीहरुको खोजीका लागि सुरुङभित्र प्राविधिक टिम पुगे पनि अक्सिजनको मात्रा एकदमै कम रहेको भन्दै फर्किएको थियो।
अब केही बेरमा उनीहरुको खोजीका लागि हेलिकोप्टरमार्फत मेसिनसहित सशस्त्र प्रहरीको उद्धारटोली पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।