इटहरी- एउटै घरका ४ सन्तान अपांग भएको परिवारलाई इटहरी उपमहानगरले १ लाख रुपैयाँ रकम सहयोग उपलब्ध गराएको छ। इटहरी-२ का लक्ष्मण तामाङका चारै सन्तान अपांग छन्। हिँड्न र बोल्न पनि नसक्ने अवस्थाका उनीहरुको स्याहारसुसारको लागि सो रकम सहयोग गरिएको मेयर द्धारिकलाल चौधरीले बताए।
मेयर चौधरी र उपमेयर लक्ष्मी गौतम दुवैजनाको उपस्थितिमा अपांग परिवारलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
तामाङ परिवारमा परेको समस्या सिङ्गो उपमहानगरपालिकाको पनि समस्या रहेकाले जीवन निर्वाह अनुदान शिर्षकमा रकम प्रदान गरिएको मेयर चौधरीको भनाइ छ।
उपमेयर गौतमले तामाङ परिवारलाई परेको समस्यामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताइन्। अपांगको हेरचाहको लागि ट्रस्टनै बनाएर अघि बढ्दा राम्रो हुने उनको राय छ।
गौतमले यसअघि घरमै पुगेर उनीहरुलाई पूर्ण-अपांगताको परिचयपत्र दिएकी थिइन्। अहिले उनीहरुले मासिक ३ हजार रुपैयाँका दरले भत्तासमेत पाउँदै आएका छन्।
सहयोग पाएपछि खुसी हुँदै लक्ष्मण तामाङले इटहरी उपमहानगरपालिकालाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।