काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारलाई भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन निर्देशन दिएकी छन्। गुठी संस्थानको ५६औं वार्षिकोत्सव समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिएकी हुन्।
'कसैको भेटी मन्त्रालयमा चढाएर गराउनुपर्दैन। कँही सुनिन्छ 'माथि दिनुपर्छ। कहाँ हो माथि दिने? च्याप्प समाएर ल्याउनुस्,' मन्त्री अर्यालले भनिन्, 'हाम्रो भावना तपाइहरूले बुझ्नुभएको छ। हाम्रो टिम सुशासनका निम्ति प्रतिबद्ध भएर लागेको छ। गुठी संस्थान हिजोको होइन, अब समयानुकुल प्रतिबद्ध भएर लाग्ने हो।'
मन्त्री अर्यालले गुठियारहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशिल भएको भन्दै गुठियारालाई देखाएर व्यक्तिको नीजि स्वार्थलाई पुरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको दाबी गरिन्।
सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवार रहेको बताइन्। संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ति गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताइन्।
संस्थान गठन भएको ५५ वर्ष पूरा हुँदासमेत गुठीको सम्पत्ति यति हो भनेर भन्न सक्नु दुखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन्। 'नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो । यो गठन भएको ५५ वर्ष पुरा भएको छ तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौ', उनले भनिन्, 'कहाँ-कहाँ कति कति मिचियो? कति मिचियो त्यसको बारेमा कुनै रेकर्ड छैन। अब कित्ताअनुसार रेकर्ड। कित्ता छुट्याएर राख्ने, व्यवहारमा कार्यान्वयन गर्ने गरी लाग्नुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।