भैरहवा- केही वर्षअघिसम्म मधेशी मूलका मानिसले मात्र मनाउने छठ अहिले साझा पर्व बनेको छ। पछिल्लो समय पहाडी मूलका मानिसले पनि धुमधामका साथ छठ मनाउन थालेका छन्। तराईमा बस्ने सबै जातजातिले यो पर्व मनाउन थालेपछि यसले थप रौनकता थपेको छ।
भैरहवास्थित श्री काली भक्ति गण (ई) र सिद्धार्थनगर-५ सेवापथ र श्री राम जानकी हनुमान मन्दिर सिद्धार्थनगर-४ उद्योगपुरीमा रहेको छठ पोखरीहरूमा धुमधामका साथ छठ पर्व मनाइएको छ। श्री काली भक्ति गणमा विगत ५० वर्ष पहिलादेखि छठपूजा हुँदै आएको छ भने श्री राम जानकी हनुमान मन्दिरमा विगत ३ वर्षदेखि छठका अवसरमा पूजाआराधना हुँदै आएको छ ।
भैरहवामा विशेषगरी मधेशी, पहाडी र मारवाडी समुदायको मिश्रित बसोबास छ। मधेशी, मारवाडिसहित पहाडी समुदायमा पनि यो पर्वको रौनक निकै बढेको छठपूजन समिति सिद्धार्थनगरका संयोजक आनन्दप्रसाद गुप्ताले बताए। उनका अनुसार पहाडी समुदायका महिलापुरुषले नै विधिपूर्वक छठ मनाउने गरेका छन्। विगतमा सीमित समुदायले मनाउने छठ राष्ट्रव्यापी हुँदै गएको संयोजक गुप्ताको भनाइ छ।
छठ पर्वको चौथो दिन शनिबार दिनभर निराहार ब्रत बसेर ब्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा सांझ पख अस्ताउदै गरेको सूर्यलाई अर्घ दिएका छन्। आइतबार छठको उदाउँदो सूर्यलाई अर्घ दिएर यो व्रतलाई विधिवत रुपमा सम्पन्न गरिन्छ।
कार्तिक शुक्ल चतूर्थीका दिन 'नहा खाए'बाट सुरु भएको छठका ब्रतालुका लागि लसुनप्याज, मसुरोको दाललगायतका खानेकुरा वर्जित छ। छठ पूजाको भोग सामाग्री तयार गर्दा शुद्धता र चोखोपनमा विशेष ध्यान दिइन्छ। छठमा विशेष परिकारसंगै विशेष फलहरूको पनि प्रधानता छ। उखु, केरा, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला जस्ता फलहरू मुख्य रुपमा भोग लगाइन्छ। षष्ठीको दिन नै बाँसको डाला, नांग्लो, कोनिया, माटोको सरबा, ढाकनमा भोग सामाग्री राखेर निर्धारित जलाशयसम्म लगिन्छ। जलाशयको किनारमा भोग सामाग्री राख्नु अघि ब्रतीले पाँच पटक दण्डवत गर्छन् । साँझको बेला अस्ताउँदो सूर्यलाई अर्घ सामाग्री पालोपालो अर्पण गरी पूजा गरिन्छ। राति कतिपय स्थानमा जलाशय किनारमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन पनि छ।
छठ पूजा गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराइ भेगको यो पर्व राष्ट्रिय यो पर्व एक भूगोल विशेषको मात्र नभएर राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै गएको छ। तराई–मधेशका हिन्दू नेपालीहरुको ठूलो चाड छठले मधेश र पहाडी समुदायलाई जोड्ने पुलको काम गर्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।