भैरहवा- गुल्मीमा ३ वटा शव जंगलमा फेला परेका छन्। शनिबार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा ती शव फेला परेका हुन्।
अन्दाजी २७ वर्षीय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकका गरी ३ शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए। बिभत्स तरिकाले हत्या गरेर जंगलमा फालेको अवस्थामा शव फेला परेको हो।
कच्ची सडकबाट ४ मिटर दुरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दुरीमा २ वटा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए।
शवलाई पोष्टमार्टम लगायत घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए।
बेवारिसे अवस्थामा फेला परेको शवको र पहिचाहन र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।