जनकपुर- चार दिवसीय सूर्य उपासनाको महापर्व 'छठ' को आज दोस्रो दिन घरघरमा ‘खरना’ पूजा सम्पन्न गरिएको छ।
पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवम् छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पारेर साँझ चन्द्रमालाइ अर्घ दिएर ब्रतालुहरूले खरना मनाएका छन्।
मधेसतिर यो पर्वकै प्रयोजनको लागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती ‘चढावा’ तयार पारिन्छ।
ब्रतालुले घरको एक शान्त कोठालाई लिपपोत गर्छन्। त्यसपछि भूइँमा केराको पात फिँजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन्। धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पूजा गर्छन्।
होहल्लाले पुजा भंग हुने आस्थाका कारणले व्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन्। देवीदेवतासँग गरेको कामना बारे उनले कसैलाई पनि बताउँदैनन्।
घरको आँगन र बरण्डामा बसेर परिवारजन, छरछिमेक एवम् पाहुनाले पुजा समाप्तिको प्रतिक्षा गरिरहेका हुन्छन्। घरमा पूजा नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन्। टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन्।
यो पूजा सम्पन्न भएपछि व्रतालुले सबैभन्दा पहिले प्रसाद खान्छन्। उपस्थित सबैलाई बाँडछन्। छठ पुजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो। यो पूजापछि व्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ। सूर्यदेवको पूजाकालागि अर्को दिन बेलुकी र भोलिपल्ट बिहान सपरिवार घरबाट नजिकैको जलाशय किनार पुग्छन्।
ब्रतालुले बिहीबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन्। आज दोश्रो दिन खरना विधि अर्थात पाप क्षय गरिँदैछ।
लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवम् चौथो दिन आइतवार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्री सहित सूर्यदेवलाई अर्घ्य दिइने छ।
बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचन सहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ।
अन्तिम दुई दिन नदी, पोखरी एवम् नहर किनारमा दिपावलीझैं माहोल हुन्छ। अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पूजापछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा ओइरो लाग्छ।
भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँड्ने एवम् मुख्य उपासकलाई ढोकेर आशिर्वाद लिने क्रम घरदेखि घाटसम्म चल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।