जनकपुर- जनकपुरका 'साइकल यात्री' भनेर चिनिएका पान पसले रन्जित साहले आमादब्लम हिमाल आरोहण गर्न सफल भएका छन्।
'नेपाल भ्रमण वर्ष २०२०'लाई सफल बनाउन जनकपुर उपमहानगरपालिका-४, का ३३ वर्षीय साहले 'तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल' मूल नाराका साथ मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।
जनकपुरधामस्थित नयाँ बसपार्कमा पानपसल सञ्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन्। उनी एक महिनाअघि मात्रै हिरो साइकल लिएर सगरमाथा आधारशिविर कालापत्थरसम्म पुगेका थिए।
रन्जितले आमादब्लमको सफल आरोहणपछि सगरमाथा आरोहण गर्ने आत्मविश्वास थपिएको प्रतिक्रिया दिए। 'आगामी आरोहण मौसममा साइकल बोकेरै सगरमाथा आरोहण गर्ने लक्ष्य छ,' उनले भने। उनले सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा यस हिमाल आरोहण गरेको बताए।

पिक प्रमोसन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलतापूर्वक आमादब्लम हिमाल आरोहण गरेका हुन्। आमादब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो। ९ घण्टापछि टोली शिखर चुम्न सफल भएको पिक प्रमोशन प्रालिका प्रबन्धक आङबाबु शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।