काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यका भित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भइरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ।
पछिल्लो ९ दिनको अवधिमा उपत्यकाका विभिन्न १ सय ५० स्थानमा भएको चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए। ‘रातिको समय पारेर ९ दिनसम्ममा मुख्य ठाउँहरुमा भइरहेको चुहावट मर्मत सकेका छौं,’ महाप्रबन्धक शाक्यले भने, ‘खानेपानी वितरणमा समस्या आएपछि केयुकेएलका प्राविधिक टोलीले यति छोटो समयमा धेरै ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको छ। यसलाई आगामी दिनमा निरन्तरता दिंदै जानेछौं।’
केयुकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका स्थानहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो।
‘पुरानो पाइपलाइनमा प्रेसर बढ्नाले धेरै ठाउँहरुमा चुहावट देखिएको हो,’ महाप्रबन्धक शाक्यले भने, ‘ती चुहावटहरुको योजनाबद्ध तरिकाले मर्मत सकिएको छ। मर्मत सकिएपछि खाल्डो राम्ररी पुरी सडकको अस्थायी पिच गर्ने काम पनि सकेका छौं। चुहावट रोकिएपछि आम उपभोक्ताको घर-घरमा अब पानीको आपूर्ति मात्रा बढ्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।