जनकपुर- छठ पर्व सुरु भएसँगै मधेसका दलितभित्रको पनि दलित मानिने डोम समुदायमा खुसीयाली छाएको छ। बाँस र बेतका चोया बनाउने व्यवसाय गर्दै आएका उनीहरु छठका बेला यस्ता सामग्रीको बिक्री बढ्ने भएकाले सो समुदायमा खुसीयाली छाएको हो।
छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा चोयाबाट बनाइने सामग्री आपूर्ति गर्न अहिले भ्याइनभ्याइ भएको मिथिला नगरपालिका-१ नक्टाझिजका संजय मरिक (डोम)ले बताए। गाँस, बाँस र कपासकै जोरजाममा पुस्तौं गुजारेका उनीहरूको व्यापार हुने मुख्य सिजनमा पर्छ, छठको समय।
छठ पर्व मनाउने प्रत्येकले छठ माता तथा सूर्यदेवतालाई बाँस र बेतबाट नै निर्माण गरिएको डालो, नाङ्लो र टपरीमा अर्घ्य दिन प्रयोग गर्ने गरेका छन्। प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले डोम समुदायको आम्दानी राम्रो हुने गरेको छ।
अहिले डोम समुदायहरु प्रदेश २ को राजधानी जनकपुर लगायतका विभिन्न ठाउँमा डालो, नाङ्लो र टालु टपरी लगायतका समानहरु बिक्री वितरणमा खटिएका छन्। गाउँगाउँमा समेत डोम समुदायका मानिसका घरमा बाँस र बेतको थुप्रो राखिएको छ। परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन र बिक्री गर्न व्यस्त रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जनकपुरका पत्रकार शैलेन्द्र झाले बताए। 'डोम समुदायको परम्परागत पेसाका रुपमा चोया र बाँसका सामग्री निर्माण गरी बिक्री गर्नु हो,' उनले भने,'छठको समयमा यस्ता सामग्रीको बिक्री बढ्ने गरेको छ।'

महोत्तरीको औरही नगरपालिका-१ का ४५ वर्षीय बिन्दी मरिक डोमले छठ बिहीबारदेखि नै विधिवत सुरुवात हुने भएको हुँदा बाँसको चोयाबाट बनाएका समाग्रीहरु गाउँ गाउँसम्म पुर्याउन भ्याईनभ्याई भएको बताए। उनी छठपर्वमा प्रयोग हुने टपरी, डालो, नाङ्लो लगायतको सामग्री बनाउन रातदिन खटिएका छन्।
दिनानुदिन छठ पर्व मनाउनेहरुको सख्या वृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्रीहरु सबैलाई पुर्याउन पहिले भन्दा बढी खटिनु परेको बिन्दी मलिक बताउछन्। उनले भने, ‘व्यापार राम्रो भईरहेकोले यसपालि राम्रो आम्दानी हुने आशामा छु, यस पटकको आम्दानीबाट छोराछोरीलाई पढाउनका लागि आर्थिक बचत गर्ने योजना छ।’अरु बेला यस डोम समुदायले संगुरबंगुर पालन र बाँसको सामग्री बनाएर बजारीकरण गर्नु नै पेसा हो।

एउटा बाँसको अहिले बजारमा दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ। तर बाँसको सामग्रीको मूल्य प्रतिगोटा ३ सय देखि १५ सयसम्म पर्ने गरेको छ। बाँसका समाग्री बेच्न डोम समुदायले विभिन्न बजार छुट्याएका छन्। आफूहरुले चाडको बेला गाँउका साहु महाजनबाट पनि आम्दानी लिने गरेको बताउँछन् उनीहरू।

तराई क्षेत्रमा यो पर्व हिन्दूले मात्र होइन, गैरहिन्दूहरुले समेत मनाउन थालेका छन्। सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा छठ विकसित भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।