रामपुर, पाल्पा- पहिले फाटेका जुत्ता-चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले घृणाको नजरले हेर्थे। अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्।
यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको।
दुई दशकअगाडि २०/२२ वर्षे ठिटो नेपालीले विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले बेझाड बजारको एक छेउमा बसेर सियो र धागोको सहाराले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउन सुरु गरे। त्यतिबेला उनीसँग धागो र एउटा सियो मात्र जुत्ता चप्पल सिलाउने साधन थियो। 'एउटा हातमा सियो र धागो, अर्को हातले काखमा राखिएको जुत्ता चप्पल समाउँदै मैले सिलाउन थालेको देखेपछि सबैका लागि म त्यतिबेला हास्यपात्र बनेँ,' उनी भन्छन्, 'व्यवसायलाई मेहनतका साथ अगाडि बढाउँदै जाँदा हेयका दृष्टिले हेर्नेहरु अहिले प्रशंसा गर्दै दुई हात जोडेर नमस्कार गर्न थालेका छन्।'
बजारको एक कुनाबाट सु गरेको सियो र धागोको काम अहिले सटरमा चलाउन पाउँदा निकै गौरव लागेको उनको भनाइ छ। 'गल्लीमा बसेर अर्काका पुराना जुत्ता चप्पल सिलाएर बस्दा सबैले आलोचना गर्न थाले, मैले लाज नमानीकन इमान्दार भएर आफ्नो काम गर्दै गएँ, त्यसैको प्रतिफल अहिले मिलेको छ,' उनी अहिले खुसी छन्।
उनले जुत्ता चप्पल सिलाएर एक महिनामा रु ६० हजार बराबरको कमाइ गरिरहेका छन्। 'चाडपर्वका बेला दिनमै १० हजारसम्म कमाइ हुन्छ,' उनी सुनाउँछन्, 'अर्काको जुत्ता चप्पल सिलाएर दुई दशक बिताएँ, काममा दुःख पनि छैन, बसीबसी विदेश जाने र सरकारी जागिरमा आबद्ध हुनेले भन्दा दोब्बर कमाइ गरेको छु।'
मेहनत र परिश्रम गर्नेका लागि कुनै पनि काम ठूलो र सानो हुँदैन। मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको दोब्बर कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय पात्र बनेका छन्, नेपाली।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।