रोल्पा- युवा जनशक्ति विदेशिएसँगै रोल्पामा जेष्ठ नागरिक र महिलाहरूमा कामको बोझ थपिएको छ। घर बाहिरको काममा सघाउ पुर्याउँदै आएका पुरुषहरू रोजगारीका लागि विदेशिएसँगै महिलाहरूमा दोहोरो कामको बोझ थपिएको हो।
दसैं सकिए लगत्तै अधिकांश घरधुरीका वृद्धवृद्धा र महिला खेतबारीमा देखिने गरेका छन्। धान, मकै भित्र्याउने लगायत खेतबारीका काममा समेत महिलाहरू व्यस्त छन्।
कतिपय महिलालाई हलो जोत्नदेखि घर व्यवहारको सम्पूर्ण काम गर्न भ्याइनभ्याइ छ।
‘घरको काममा फुर्सद नपाउने महिलाहरू खेतिपाती गर्ने र हलो जोत्ने सबे काम आफैं गर्छन्। उनीहरूमा कार्यबोझ थपिएको छ,’ महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्।
बिहान उठेदेखि बेलुकासम्म काममै जोतिनु पर्दा महिलाहरूमा शारिरीक तथा मानसिक समस्या हुने गरेको आचार्या बताउँछन्।
छोरा छोरी साना र श्रीमान् विदेश रहेका कारण आफैं खेती सम्हाल्नुका साथै बारी जोत्ने गरेको रोल्पा नगरपालिका ४ कि जीवनमाया परियारले बताइन्। खेती किसानी गरेको अन्नले २/४ महिना मात्रै धान्छ। श्रीमान्ले विदेशबाट पठाएको पैसाले परिवार पालिएका छौं,’ परियारले भनिन्।
दिनभर काम गर्दा पनि आधा पेट खाएर सुत्नुपर्ने बाध्यता रहेको परियारको दुखेसो छ।
पछिल्लो पटक भएको राजनैतिक परिवर्तनबाट महिलाले पर्याप्त अधिकार पाएको भनिए पनि उनीहरूको आर्थिक अवस्थामा भने सुधार हुन नसकेको अधिकारकर्मी उमा केसीको भनाइ छ।
महिलाहरुमा आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले अझै परिवर्तन हुन नसकेको केसीको तर्क छ। ‘रोजगारीका अवसर नहुँदा युवाशक्ति विदेश पलायनको प्रत्यक्ष मार महिलामा देखिएको छ,’ केसीले भनिन्।
उमेर नपुगेका युवाहरू समेत नागरिकतामा उमेर बढाएर विदेश जाने गरेका छन्।
जिल्लामा नागरिकता र पासपोर्ट सँगै बनाउने प्रचलन देखिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ। विदेश जाने उद्देश्यले नागरिकता र पासपोर्ट बनाउन आएका युवाहरुलाई प्रमुख जिल्ला अधिकारीहरूले परामर्श गर्ने गरेका छन्। यद्यपि, विदशिनेहरूको संख्या भने घट्न नसकेको जिल्ला प्रशासन कार्यालय रोल्पाका एक कर्मचारी बताउँछन्।
जिल्लामा दैनिक करिब १५ जनाले पासपोर्ट बनाउने गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रोल्पाबाट हालसम्म ५० हजार बढीले राहादानी बनाइसकेको पाइएको छ। भारतबाहेक अन्य देशमा करिब २५ हजार रोल्पाली रहेको अनुमान छ। रोजगारीमा रहेका मध्ये ९५ प्रतिशत भन्दा बढी खाडी मुलुकमा रहेका छन भने झण्डै ५ प्रतिशत अमेरिका, जापान, अष्ट्रलिया, कोरिया जस्ता देशमा छन्।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरू वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक देखिएको छ। लामो समयदेखि रोजगारीमा गएरआवत जावत गर्नेहरू ४० वर्ष माथिका रहे पनि नयाँ रोजगारीमा जानेहरू भने १८/२० वर्षका रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख छ।
एक हातले नगारिकता र अर्को हातले राहादानी लिने उनीहरूको एसएलसी पछिको गन्तव्य वैदेशिक रोजगारी हुने गरेको छ।
असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण हरेक वर्ष ठूलो संख्याका रोल्पालीले ज्यान गुमाउने गरेका छन्। घरेलु कामदार, कृषि मजदुर,कारखाना मजदुर जस्ता जोखिमयुक्त काममा जानेहरूको संख्या अधिक रहेका कारण वर्षेनी यति धेरै रोल्पालीको मृत्यु हुने गरेको वैदेशिक रोजगारीमा गएकाहरू बताउँछन्।
मीठो सपना बोकेर विदेश जाने युवाहरू लास बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको बिचल्ली हुने गरेको छ। स्वदेशमै रहँदा पारिवारिक व्यवस्थापन गरेका उनीहरू विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ।
विदेश गएका नागरिकहरूको कार्यस्थलमै मृत्यु भएपछि घरमा श्रीमतीहरूको विचल्ली हुने गरेको एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्यले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।