जनकपुरधाम- तिहार सकिएलगत्तै तराईमा छठ पर्वको तयारी तीव्र रुपमा सुरु भएको छ। अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीय छठको तयारीमा जुटेका छन्।
छठमा प्रयोग हुने बाँसको चंगेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री खरिद गर्नेहरुको भीड बजारमा देखिन थालेको छ।
प्रदेश २ का राजधानी जनकपुर आसपासका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरिदबिक्री धमाधम भइरहेको छ।
छठमा प्रयोग हुने सामानहरू कतिपय व्यापारीले टायरगाँडामा राखेर गाउँघरमा बिक्री गरेका दृश्य देखिन थालेको छ। यस्ता सामग्रीले भरिभराउ बनेका बजारले छठको रौनक बढेको स्थानीयको भनाइ छ।
धनुषाको नगराई नगरपालिकाका मिथिलेश झाले भने, ‘बजार छठको सामग्रीले भरिभराउ देखिएको छ।’
छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको छ। छठको आगमनसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन्।
‘अरू बेलाभन्दा छठका बेला कारोबार बढी हुन्छ,’ जनकपुरमा रेडिमेट कपडाको व्यवसाय गर्दै आएका अशोक गुप्ताले भने, ‘छठ पर्व व्यापारीहरूका लागि पनि ठूलो उत्सव हो, यति बेला भ्याइनभ्याइ छ ।’
.jpg)
त्यसैगरी सीमावर्ती बजार मधवापुर, सुरसन्ड, भीट्ठामोड, जयनगर, बासोपट्टीमा पनि छठ सामग्री खरिद गर्न नेपालीको घुइँचो लाग्न थालेको छ। खासगरी भारतीय बजारमा कपडा, लुगाफाटा, तेल, चिनी किन्न नेपालीहरु सीमावर्ती बजार पुग्ने गरेका छन्।
छठको तयारीका लागि जनकपुर आसपासका जलाशय तथा घाटहरूमा सरसफाइ तथा सजावटको काम सुरु भइसकेको छ। नदी तथा पोखरीमा टेन्ट लगाएर सजावटको काम भइरहेको छ।
रोजगारीका लागि भारतलगायत अन्य मुलुक गएकाहरू पनि छठ पर्व मनाउन गाउँ फर्कन थालेका छन्। दसैं र तिहारमा गाउँ आउन नसक्नेहरू छठकै लागि भए पनि फर्किरहेका छन्। रोजगारीका कारण अरू बेला सुनसान जस्तै बनेका गाउँघरमा बाहिरबाट घर फर्कनेका कारण चहलपहल बढेको छ।
छठ पर्व बुधवारदेखि सुरु भएको छ। बुधवार ब्रतालुहरु नुहाएर खान्छन्, जसलाई 'नहा खाय' भनिन्छ। यसै दिन छठको ब्रत बस्ने भनेर संकल्प गरिन्छ। बिहीबार दिनभर ब्रतालु महिला निराहार बसेर साँझ प्रसाद चढाउने गर्छन्। यो दिनलाई 'खरना' भनिन्छ।
.jpg)
शनिबार बिहानदेखि पर्वमा प्रयोग हुने विभिन्न किसिमका पक्वान्न घरमै बनाइन्छ। साँझ पवित्र जलाशयमा गएर छठी मैयाको पूजा गरी प्रसाद चढाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ, यसलाई 'संझियाघाट' भनिन्छ।
रातभरि पूजापाठ गरेर आईतबार उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठको समापन हुन्छ ।
महंगियो छठ
छठ पर्व महंगिएको उपभोक्ताहरु बताउँछन्। जनकपुरको पीडारी चोकमा छठका लागि सामग्री खरिद गर्न पुगेका सतीश लाल कर्णले भने, 'छठमा पूजाको लागि चाहिने केरादेखि कागतीसम्मको मूल्य बढेको छ। अरु बेला ५ रुपैयाँ गोटाले पाउने कागती अहिले २० रुपैयाँ गोटा भन्दा कममा पाउन मुस्किल छ।'
.jpg)
छठ पर्वमा केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत सामग्री अत्यधिक खपत हुने गरेको छ।
एक घरि केराको मूल्य ८ सयसम्म पुगेको व्यापारीहरु बताउँछन्। छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा बजारमा केराको अत्यधिक माग देखिएको छ।
नेपाली केराले मात्र बजार माग धान्न नसक्दा भारतको हाजिपुर, दरभंगा, पटना लगायतका ठाउँहरुमा केरा मगाएको जीवन फलफूल सेन्टरका सञ्चालक जीवन साहले बताए। तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मूल्य आकासिएको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवको भनाइ छ।
गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य ४० प्रतिशत वृद्धि भएको छ।
छठ पर्वमा बनाउने प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।