जनकपुरधाम- मिथिला क्षेत्रमा पर्वका रुपमा मानिने हुर्राहुर्री परम्परा लोप भएको छ। गत वर्षसम्म धनुषाका केही स्थानमा मानिएको यो परम्परा यस वर्ष भने नमानिएको हो। मिथिला क्षेत्रका कृषकले गोवर्द्धन पूजाका दिन यो परम्परा धान्दै आएका थिए।
सुँगुरलाई गाईभैंसीबाट कुल्चाएर मार्न लगाइने प्रचलन यो परम्परामा थियो। पशुपमाथि पशुबाटै हिंसा हुने परम्परा रहेको यो पर्व लोप हुँदा संस्कृति नै लोप हुने नभई पशु अधिकारको रक्षा हुने पशु अधिकारकर्मीको टिप्पणी छ। ‘परम्पराको नाउँमा पशुमाथि गरिने निर्दयी व्यवहारलाई निरुत्साहित गर्न सबै पक्ष लाग्नुपर्छ,’ एक पशु अधिकारकर्मीले भने। यो परम्पराबाट गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउने मिथिलाको ग्रामीण क्षेत्रमा किसानले जनविश्वास थियो।
हुर्राहुर्रीका लागि गाईभैँसी सिँगारेर सिंङमा तोरीको तेल लगाउने प्रचलन थियो। यसका साथै टाउकामा कलात्मक तथा विशेष किसिमको झालर र घाँटीमा कौरी, पाउजु, घण्टी झुण्ड्याउने गरिन्थ्यो। यस प्रकारको तयारी खुल्ला चौरमा सुँगुरको पाठोसँग लडाइन्थ्यो।
धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादवका अनुसार हात्ती, गाई, भैंसी लगाएर सुँगुर मार्ने हुर्राहुर्री पौराणिक कालदेखि चलेको पर्व हो। यो पर्व खासगरी यादव बहुल क्षेत्रमा आयोजना हुने गरेको उनले बताए। उनले कतिपय ठाउँमा यो परम्परा आफैं बन्द भएको बताए।
धनुषाको ठाढीका स्थानीयले गत वर्षदेखि हुर्राहुर्री मनाउन छाडेका स्थानीय महेश्वर गोइतले बताए। किसानका छोराछोरी अन्य पेशामा लागेका, आयआर्जनका लागि विदेश गएका र गाई–भैंसी पालन पनि घटेका हुँदा हुर्राहुर्री हुन छाडेको उनको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।