भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको संख्या थपेको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन्।
चाँगुनारायण नगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पुर्याएको भन्दै आक्रोश व्यक्त गरे।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भयो, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी भन्दै ओलीले प्रश्न गरे- 'यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो?'
सरकार चुनाव नगर्ने षड्यन्त्रमा लागेको बताउँदै उनले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाए । चुनाव नहुने षड्यन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।