रोल्पा- उपराष्ट्रपति नन्दबहादुर पुनले यस वर्षको भाइटिका रोल्पास्थित पुर्ख्यौली घरमा लगाउने भएका छन्। भाइटीका लगाउने कार्यक्रमसहित उपराष्ट्रपति शुक्रबार रोल्पाको परिवर्तन गाउँपालिका-२ रांसीस्थित पुर्ख्यौली घरमा आइसकेका छन्।
उपराष्ट्रपति भएपछि दशैतिहार मान्न पुर्ख्यौली घर नआएका पुनलाई लामो समयपछि यो अवसर जुरेको हो। पहिलो कार्यकालमा उपराष्ट्रपति भएको बेला घर आएका उपराष्ट्रपतिको दोश्रो कार्यकालपछिको पहिलो आगमन भएको उपराष्ट्रपतिका भाई भीमप्रकाश पुनले बताए।
'पहिल्यै आउने कार्यक्रम रहँदारहँदै पनि कार्यक्रम मिलाउन सकिएको थिएन। यस पटक भने पुर्ख्यौली थलोमा आउनु भएको छ,' जनसेवा माध्यमिक विद्यालयमा प्रधानाध्यापकसमेत रहेका उपराष्ट्रपतिका भाइ पुनले भने।
उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ। गाउँका मान्यजन तथा साथी दौंतरीसँग भेटघाट तथा अन्य गाउँपालिकामा हुने अन्य औपचारिक/अनौपचारिक कार्यक्रमसमेत सरिक हुने कार्यक्रम रहेको बताइएको छ। उपराष्ट्र पुनको तिहार पछि मात्रै काठमाण्डौ फर्कने कार्यक्रम छ।
स्थानीय सरकार गठनपछि पहिलो पटक गाउँपालिका आएका पुनलाई स्थानीय महिला समूह, आमा समूह र युवा समूहले भव्य स्वागत गरेका थिए। झाँकी र बाजागाजा सहित गरिएको स्वागत सत्कारमा स्थानीय सरकारका प्रतिनिधि जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
स्थानीय तहको निर्वाचन पछि उपराष्ट्रपतिको पहिलो पटक भएको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले बताए। 'उपराष्ट्रति पुनको घरमा भएको आगमनले यहाँका जनता निकै हर्षित भएका छन्,' अध्यक्ष डाँगीले भने। उपराष्ट्रपति पुनको पुर्ख्यौली घर साविक राँसी गाविस र हाल परिवर्तन गाउँपालिका-२ राँसी, डाँडागाउँमा पर्छ। सो घरमा उपराष्ट्रपतिका वयोवृद्ध बुबा बस्दै आएका छन्।
उपराष्ट्रपति लामो समयपछि आफ्नै जन्मघरमा रहने भएपछि सो ठाउँको सुरक्षा बन्दोबस्त कडा पारिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ। उपराष्ट्रपति पुनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।