इटहरी- शुक्रबार दिउँसो ह्विल चेयरमा एक हुल युवा इटहरी उपमहानगरपालिकाभित्र प्रवेश गरे। कार्यालयको गेटबाट केही पर पुगेपछि उनीहरू अलमलमा परे। कुनै पनि कार्यकक्षमा ह्विल चेयर छिर्ने अवस्था थिएन।
कार्यालयको प्राङगणमै लाइन लागेर बसे उनीहरू।
सरकारी कार्यालय र सार्वजनिक स्थानहरू अपांगमैत्री नभएको भन्दै गुनासो गर्न पुगेका उनीहरू कसरी पुग्ने भन्नेमै अलमलिए। उपमहानगरका प्रमुख उपप्रमुखको कार्यकक्षसम्म ह्विल चेयर नपुग्ने भएपछि उनीहरूले बाहिरै बिसाए। एक घण्टा जति बसेपछि प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले उनीहरूलाई भेट दिए।
भेटमा आफूहरू धेरै समस्या परिरहेकोले उपमहानगरले सहयोग गरिदिन आग्रह गरे। आफूहरू जस्तै धेरै साथीहरू घरैमा गुम्सिएर बस्नु परेकाले उनीहरूको उद्धारको लागि अनुरोध गरे।
त्यतिकैमा सुपर राईले एक निवेदन बुझदिन अधिकृतलाई आग्रह गरे। नेपाल स्पाइनल कर्ड इन्जुरी संघको तर्फबाट निवेदन बुझाउन आएका रहेका छन्।
सुरुमै उनले स्पाइन कर्ड इन्जुरी भएका बिरामीको शरीरको आधा भाग अचेत हुने जानकारी दिए। कम्मरदेखिको तलको भागको दिमागसँगको कनेक्सन छुटेपछि यस्तो समस्या हुने उनले बताए।
यस्ता अधिकांश बिरामीको दिसा/पिसाव पनि एकै ठाउँमा हुने भएकोले कसैको सहारा बिना जिउन सक्ने अवस्था नहुने उनको भनाइ थियो।
अहिले स्पाइनल कर्ड इन्जुरी भएका अपांगको लागि संस्था खोलेरै काम गर्न थालिएको उनले सुनाए। ‘उनीहरूको हितमा आवाज उठाउन संघ खोलिएको छ,’ उनले भने।
२०६६ सालमा स्थापना भएको नेपाल स्पाइनल कर्ड इन्जुरी संघले स्पाइनल अपांगहरूलाई घर बाहिर ल्याउने काममा सहयोग गरेको उनको भनाइ थियो।
सोही निवेदनमा पनि अपांगता सम्बन्धी जनचेतना जगाउने, हिनताबोध हटाउन र उर्जाशील बनाएर सामान्य मान्छे जस्तै जीवनशैली चलाउन सिकाउने लेखिएको छ।
अपांगता भएका व्यक्तिलाई खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउन संघको स्थापना गरिएको निवेदनमा उल्लेख छ।
सोही निवेदनमा उपमहानगरभित्रका सम्पूर्ण संरचना अपांगमैत्री हुनुपर्ने, सार्वजनिक सवारीमा छुटको व्यवस्था गरिदिनुपर्ने, खेलकुद सम्बन्धी कार्यक्रम ल्याउनुपर्ने तथा शिक्षा र श्वास्थ्य निःशुल्क गर्न माग गरेका छन्। आफूहरूले अहिलेसम्म मुगुको रारा, कालीकोट र बुटबलमा पनि स्पाइन इन्जुरीका बिरामीहरुको लागी खेलकुद अयोजना गरिसकेको राईले बताए।
राईले अधिकृत बिमलीलाई निवेदन बुझाउन नपाउँदै उपमेयर लक्ष्मी गौतम पनि आइपुगिन्। उनले यसबारे बुझ्न खोजिन्। त्यतिकैमा राईले आफूहरूको केही माग भएकाले जनप्रतिनिधिलाई भेट्न खोजेको बताए। गौतमले पनि आफूहरू अपांगमैन्त्री प्रशासनको पक्षमा भएको जवाफ दिइन्।

आफ्नै पहलमा इटहरीका अपांगता भएका व्यक्तिको घरैमा सेवा पुर्याइरहेको गौतमले बताइन्। स्पाइनल कर्ड इन्जुरीका बिरामी बढ्दै गएकोले आफूहरू त्यसतर्फ गम्भीर भएको उनको भनाइ थियो।
इटहरी उपमहानगरपालिकाले कार्यविधि बनाएर ऐननै पास गरिसकेको उनले सुनाइन्। बजेटमा समेत अपांगताको क्षेत्रमा काम गर्ने उल्लेख भएको प्रष्ट पारिन्।
करिब आधाघण्टाको बसाइमा उनले अपांगताको क्षेत्रमा उल्लेख्य काम गरेको सुनाइन्। अपांगता भएका व्यक्तिको लागि स्वरोजगार कार्यक्रममा देखि आत्मनिर्भर हुन चाहनेको लागि सिप सिकाउन सकिने उनको भनाइ थियो। हरेक अपांगको घरमै पुगेको ह्विल चेयर बाँढिरहेको बताउँदै उनले अबको बजेटमा भनै प्राथमिकता दिने बाचा गरिन्।
उनले त्यसो भनिरहँदा अधिकांश अपांग युवा एक आपसमा हेराहेर गरिरहेका थिए। स्वयम् मेयर/उपमेयरको कार्यकक्ष र उपमहानगरपालिका कार्यलयनै अपांगमैत्री देखिँदैन। त्यतिकैमा आफ्नो कुरा राखेर उपमेयर गौतम बिदा भइन्।
त्यसलगत्तै सहभागी नवराज कार्कीले अपांग भएर जिउन धेरैनै गाह्रो हुने सुनाए। हरेक कार्यलय र संरचना अपांगमैत्री बनाइदिए धेरै सहज हुने उनको बुझाइ छ।
पूर्वमा कोही पनि अपांगमैत्री अस्पताल नभएको कारण आफू काठमाडांै गएर बस्नुपरेको दुखेसो पोखे। आफू अहिले थाङ्का पेन्टिङ सिकिरहेको उनले बताए।
त्यस्तै सुन्दरहरैचा ४ का निर्भीक राईले पनि आफूले घरैमा बसेर इलेक्ट्रोनिक्स सामानको मर्मत गर्ने काम थालेको बताए। घर बाहिर निस्कँदा धेरै समस्या हुने गरेको उनले सुनाए। कुनै पनि कार्यलयमा जानुपर्दा बाहिरै बसेर काम गर्नुपर्ने उनी बताउँछन्।
२ वर्षअघि गाडी दुर्घटनामा परी आधा शरीर नचल्ने भएका तिलक खड्का पनि अहिले ह्विल चेयरमै हिँड्छन्। हातमा सिप पनि नभएको र कसैको साहारामा मात्र बाहिर जान सक्ने भएकोले घरैमा बसेर दिन कटाउने गरेको उनी सुनाउँछन्। अरुको भरमा बाँच्नुपर्दा जीवन मरेतूल्य हुने उनी बताउँछन्।
खड्कासँगै बसेकी नर्बदा दाहालको दैनिकी पनि घरैमा बित्छ। ८ कक्षमा पुगेपछि आफ्नो आधा शरीर चल्न थालेको उनी सुनाउँछिन्। सुरुमा केही लक्षण नदेखिए पनि एक्कासि यस्तो भएको उनको भनाइ छ।
उनीहरूकै भनाइको आधारमा अहिलेसम्म स्पाइनल इन्जुरीका यति नै बिरामी छन् भन्ने तथ्याङक छैन। तर, हरेक दुर्घटनाले गर्दा यस्ता बिरामी दिनानुदिन बढिरहेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।