पाल्पा- जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको आयोजनामा माथागढी गाउँपालिका–३, एक्लेबरस्थित सहारा नमूना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले विद्यालयका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शैक्षिक सामग्री पाएपछि यहाँका विद्यार्थी खुसी बनेका छन्। प्रहरी उपरीक्षक जिसीले शैक्षिक सामग्रीका अभावमा विद्यार्थीले विद्यालय आउनबाट वञ्चित हुनुनपर्ने बताए।
सामुदायिक सेवा केन्द्रका सदस्य दिनेश गन्धर्वले सोही विद्यालयमा अध्ययनरत कक्षा १, २, ३, ४ र ५ का विद्यार्थी गरी जम्मा ३१ विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए। तानसेन नगरपालिकाका विभिन्न वडामा बस्ने माधव पाण्डे, मग्दुल मिया र डेकबहादुर लुहागुनबाट शैक्षिक सामग्री प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालयले शैक्षिक सामग्री बैंक स्थापना गरेको छ।
सामुदायिक विद्यालयलाई लक्षित गरी विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा शैक्षिक सामग्रीको अभाव हुनबाट जोगाउन शैक्षिक सामग्री बैंक स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरेको छ।
प्रहरीले बालबालिकालाई विद्यालय जान प्रोत्साहित गर्ने, बालबालिकालाई घरेलु हिंसा, ट्राफिक, सामाजिक विकृति तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।