जनकपुर- जनकपुरमा बुधबार एक पेट्रोलियम व्यवसायीको हत्या भएको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले शनिबार जनकपुरमा रहेका पेट्रोल पम्प बन्दको आह्वान गरेका छन्।
पेट्रोलियम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु असुरक्षित रहेको भन्दै एसोसिएसनको जनकपुर अन्तर्गतका पेट्रोल पम्प बन्दको आह्वान गरिएको हो।
यस्तै सोही दिन महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घन्टा बन्द गर्ने एसोसिएसनले जनाएको छ। एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग समेत गरेका छन्।
बुधबार जनकपुरधाममा पेट्रोल पम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो। हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोली सहित बुधबार नै पक्राउ गरेको छ। लेनदेन विवादमा गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।