नयाँ दिल्ली- वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षण र त्यसका प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको बताएका छन्। सोका लागि नेपालले १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरिसकेको उनले जानकारी दिए।
भारतको नयाँ दिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन (जिएसएलपी)को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका हुन्।
पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको उनको भनाइ छ। हिमचितुवा संरक्षणका लागि बासस्थान र आहाराको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा देखा परेको मन्त्री बस्नेतले औंल्याए।
सरकार एक्लैको प्रयास सार्थक नहुने निस्कर्षसहित नेपालले हिमचितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुलाई एक हिस्सा बनाएको भन्दै उनले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाए।
हिमचितुवा संरक्षणबाट पारिस्थितिकीय प्रणालीको रक्षाका साथै पर्या-पर्यटन र हिमालहरुको संरक्षणमा समेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको मन्त्री बस्नेतले स्पष्ट गरे। उनले हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राखे।
मन्त्री बस्नेतले हिमचितुवासहित वन्यजन्तुबाट मारिएकाका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरिँदै आएको त्यस अवसरमा अवगत गराए। जलवायु परिवर्तनका कारण हिमालहरु पग्लने क्रम बढेकाले त्यसमा गम्भीर हुन पनि सबैलाई आग्रह गरे।
नेपालले हिमचितुवाको शिकार, अवैध निकासी तथा अंगहरुको व्यापारमा कडाइ गरेको उल्लेख गरे। मन्त्री बस्नेतले नेपाललले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीहरुलाई निमन्त्रणा दिए।
बैठकमा हिमचितुवा पाइने मुलुकहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन्।
नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्रमा ५ सयभन्दा बढी संख्यामा हिमचितुवा रहेको बताइन्छ। सो क्षेत्रदेखि पश्चिममा अपिनम्पासम्म हिमचितुवा पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।