धनगढी- कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदललाई एक महिनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा चौपायाको व्यवस्थापनको समग्र योजना बनाएर बैठकमा पेस गर्ने समयसीमा दिइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले बताए। कार्यदलमा कुन-कुन क्षेत्रका व्यक्ति र कतिजना रहने भन्ने जिम्मा पनि संयोजकलाई नै तोकिएको बताइएको छ।
छलफलमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका थुप्रै प्रयास गर्दा पनि पूर्णरुपमा व्यवस्थापन हुन नसकेको बताए। उनले भने, 'उपमहानगरपालिकाले गौशाला बनाएर व्यवस्थापन गरेको छ तर व्यवस्थापन नगरेका स्थानीय तहबाट धनगढीमा पशुचौपाया भित्रिने गरेका छन्।'
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले गौरीगङ्गाको तालबन्द क्षेत्रमा एकीकृतरूपमा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने प्रस्ताव आफूले राखेको बताए।
गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा कैलाली र कञ्चनपुका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने विषयमा छलफल भएको जनाए। स्थानीय तहले मात्रै छाडा चौपाया व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि प्रदेश सरकारसँग छलफल थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।