काठमाडौं- पशुपति क्षेत्र विकाष कोषले ९ वर्षपछि पशुपति विकास सेवाकेन्द्रका कर्मचारीको सेवासुविधा बढाउने भएको छ। विभिन्न सेवासुविधा वृद्धिको माग राख्दै बुधबार बिहानबाट शवदाहलगायत सबै काम बन्द गर्ने घोषणा गरेका सेवा केन्द्रका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच बुधबार यस्तो सहमति भएको हो।
सेवासुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम दुई घन्टा ठप्प पारेका थिए। यसपछि कोषले कामदारलाई काम नरोक्न आग्रह गर्दै वार्तामा बोलाएको थियो।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार एउटा शव जलाएबापत कामदारले १ हजार २ सय रुपैयाँ पाउँदै आएका थिए। त्यसमा ३ सय रुपैयाँ वृद्धि गरेर १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ।
त्यस्तै, अवकाश हुँदा उपदानबापत पाउने रकममा पनि वृद्धि गरिएको छ। २० वर्ष काम गरेर अवकाश हुँदा एक लाख ५० हजार रुपैयाँ उपादान पाउने गरेका कामदारले अब भने ५ लाख रुपैयाँ पाउने भएका छन्।
यस्तै, १० वर्ष काम गर्ने कामदारले १ लाख ५० हजार र १५ वर्ष काम गर्ने कामदारले अब ३ लाख रुपैयाँ अनुदान पाउने भएका छन्। यसअघि १० वर्ष काम गरेकाले ५० हजार र १५ वर्ष काम गरेकाले १ लाख ५० हजार पाउँने व्यवस्था थियो।
औषधि उपचार खर्चमा पनि वार्षिक ५ हजार रुपैयाँ खर्च दिँदै आएको कोषले अब १५ हजार रुपैयाँ पुर्याएको छ। यसका साथै शवदाह गर्ने कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमा गर्ने पनि सहमति भएको छ। कुनै पनि कामदार अस्पतालमा भर्ना भएर औषधि उपचार गराएको खण्डमा २० हजार दिइरहेको रकमलाई ३० हजार पुर्याइएको छ।
यस्तै, दाउरा बोक्नेहरुको मूल्य पनि ४ सयबाट बढेर ६ सय रुपैयाँ पुगेको छ। खाल्डो खन्नेहरुको हकमा पनि १ हजार २ सयबाट बढाएर १ हजार ५ सय पुर्याइएको छ। बालबालिकाका हकमा भने ७ सयबाट बढाएर १ हजार बनाइएको छ।
कर्मचारीसँग यस्तो सहमति हुनुअघि आन्दोलनले शव जलाउन समस्या हुने सक्ने भन्दै दुई वटै विद्युतीय शवदाह गृह सञ्चालनमा राख्ने पूर्वतयारी गरिएको थियो। दाउरामै शव जलाउन खोज्नेलाई पनि वैकल्पिक व्यवस्था मिलाइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।