काठमाडौं- जगसहित ढलेको काष्ठमण्डप पुनर्निर्माणअन्तर्गत पहिलो तला (भूइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ। काष्ठमण्डप पुनर्निर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनर्निर्माणको काम करिब आधा सकिएको जनाएको हो।
उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म ३ करोड रुपैयाँ खर्च भएको छ। उपभोक्ता समितिलाई काठमाडौं महानगरपालिकाले साढे ५ करोड रुपैयाँ दिएको थियो। हालसम्म निर्माणका लागि रकम अभाव भएको छैन।
काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ। हालसम्म ४ हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ। सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनर्निर्माण भइरहेको जानकारी दिए।
उनका अनुसार काष्ठमण्डपमा पुर्खाले पहिला कसरी निर्माण गरेका थिए भन्ने कुराको जानकारी लिनसमेत सहयोग भएको छ। काष्ठमण्डप १२औँ शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो। पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनर्निर्माणमा प्रयोग गरिएको छ।
सोमा ४ मूल थाममध्येमा एक थाम (१०औँ शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानै राखिएको छ। त्यस्तै १ सय थान मेथमध्येमा २९ वटा सातौँ शताब्दीमा प्रयोग गरिएका थाम राखिएको छ। काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौतम डङ्गोलका अनुसार पहिलो र दोस्रो घेरामा १०/१० मेथ प्रयोग गरिएको छ भने तेस्रो घेरामा ९ वटा मेथ प्रयोग गरिएको छ।
पुनर्निर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ। काष्ठमण्डप पुरानै शैली (तीन तलाको)को बन्नेछ।
भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको माटो र ताहचलको माटो प्रयोग गरिएको छ। त्यस्तै आवश्यक ढुङ्गा काभ्रेबाट ल्याइएको छ। पुनर्निर्माणका लागि आवश्यक काठ नेपाल टिम्बर कर्पोरेसन (टिसिएन) सँग पुरातत्व विभागको लागतअनुसार १७ हजार ५८ क्युपिट काठ ल्याउने सम्झौता गरिएको छ। काष्ठमण्डपमा प्रयोग गरिएको इँटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ।
पुनर्निर्माण समितिका सचिव श्रेष्ठले भने, 'काष्ठमण्डपमा सादा इँटाको प्रयोग गरिएको पाइयो, ‘ठूलो माःअप्पा’ र ‘सानो माःअप्पा’ गरी दुई थरिका इँटा प्रयोग भएका रहेछन्, त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ।' हालसम्म ३३ हजार ३ सय ५८ थान ठूलो माःअप्पा र २१ हजार ५ सय ३० थान सानो माःअप्पा प्रयोग भएका छन्। काष्ठमण्डपको मूल थामको मुनि दुई किलो सुन राखिएको छ।
समितिले राष्ट्र बैकबाट उक्त सुन किनेको हो। त्यस्तै, प्रत्येक मूल थामको मुनि र माथि तामा जडान गरिएको छ। काष्ठमण्डपमा ठड्याइएका मूल थाम, मेथ र निदालमा किटनाशक औषधि र आलसको तेल लगाइएको छ। तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ १९ करोड ८८ लाख रुपैयाँ लाग्ने अनुमान महानगरले गरेको थियो।
दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालिगड पुनर्निर्माणमा खटिरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।