काभ्रेपलाञ्चोक- भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनर्निर्माण योजनाले छोएको छैन। पुनर्निर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनर्निर्माणको काम सुरु नभएको जिल्ला शिक्षा समन्वय इकाई धुलिखेलले जनाएको छ। 'भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनर्निर्माणमा प्रतिकूल प्रभाव परेको छ,' इकाई प्रमुख द्वारिका पोखरेलले भने।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो र चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलको तर्क छ। उनका अनुसार पुनर्निर्माण थालिएको ४ वर्षमा जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनर्निर्माणको काम सकिएको छ। पोखरेलले भने, 'निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ।'
भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनर्निर्माणमा अझै एक वर्ष लाग्ने भएको छ। निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको इकाईको तथ्याङ्कले देखाएको छ। काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयको पुनर्निर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एसोसिएसन, नेपाल एन्ड बिओल्ड युनिसेफ चायल्ड स्पेस फाउन्डेसन, हेल्थ एन्ड एजुकेसन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन्।
मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनर्निर्माणको काम आउँदो वर्षभित्र सक्ने योजना छ। इकाईका अनुसार हाल धुलिखेल नगरपालिकामा ५०, पाँचखाल नगरपालिकामा ७५, पनौती नगरपालिकामा ६५, नमोबुद्ध नगरपालिकामा ६५, बनेपा नगरपालिकामा ६० प्रतिशत विद्यालयको पुनर्निर्माण भएको छ।
यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनर्निर्माणको काम सकिएको हो।
२८ विद्यालय एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण भएका छन्। नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताए।
जिल्लाका कूल ६ सय ९० विद्यालयमध्ये १ सय ३ संस्थागत विद्यालय छन्। ती विद्यालयमा हाल ७७ हजार ८ सय ५४ विद्यार्थी अध्ययनरत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।