रत्ननगर- रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम सुरु गरेको छ। फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो।
फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौंसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिए।
प्रालिले कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम सुरु गरेको छ। सो कम्पनीले वार्षिक १० लाख ६६ हजार रुपैयाँ नगरपालिकालाई बुझाउनेगरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको उनले जानकारी दिए।
रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ। नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ। फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्नेगरी सम्झौता भएको छ।
रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक २२ लाख रुपैयाँ सङ्कलन हुने र फोहर सङ्कलनका लागि करिब १ करोड रुपैयाँ खर्च हुँदै आएको छ।
नगरप्रमुख नारायण वनले फोहरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नेगरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताए। निजी क्षेत्रलाई फोहरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिकरूपमा ७८ लाख रुपैयाँ बचत हुने भएको छ। सो रकम विकास निर्माणमा खर्च गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।