डडेल्धुरा- बैतडीको दशरथचन्द नगरपालिका-९ मा एक्स्काभेटरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
स्थानीय गौरी जोशीलाई एक्स्काभेटरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिएर बोहरामाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए। बोहरालाई लागेको आरोप पुष्टी भएमा कानुनअनुसार कारबाही हुने उनले बताए। दशरथचन्द नगरपालिका-९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।
झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई एक्स्काभेटरले हुत्याएको र अहिले उनको कोहलपुरमा उपचार भइरहेको छ।
ढुंगा हानाहान हुँदा दुवै पक्षका अन्य ७ जनासमेत समान्य घाइते भएका थिए। उनीहरुको जिल्ला अस्पतालमा उपचार भएको थियो।
पार्ससम्म जोड्ने सडक निर्माणकार्य चिलाउने भन्ने ठाउँमा पुग्दा जमिनावालाहरुले केही दिनभित्रै सबैसँग सहमति गरेर कार्य अगाडि बढाउन आग्रह गरेको भए पनि निर्माण पक्षले जबरजस्ती गरी काम अघि बढाउन खोजेको स्थानीय हंशराज जोशीले जानकारी दिए।
तर, निर्माण पक्षका दिनेश जोशीले भने आफूहरुले सडक निर्माण गर्ने सहमति गरेको र अर्को पक्षले एक्कासी ढुंगामुढा गर्दा झडप भएको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।