काठमाडौं– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले विभागमा तालाबन्दी गरेका छन्।
विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमिक्त प्रमुख बनाइएको भन्दै संघको जनप्रशासन क्याम्पस इकाई आन्दोलित भएको हो।
त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीन महिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। यो नियुक्तिसँगै विद्यार्थीहरु आन्दोलित भएका हुन्।
वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुई वटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनु पर्ने मागसहित तालाबन्दी गरिएको संघका इकाई अध्यक्ष सुदीप श्रेष्ठले जनाएका छन्।
माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने श्रेष्ठले जानकारी गराए। तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट तारताम थापाको टोली पनि संलग्न छ।
प्राध्यापकहरु पनि नियुक्तिप्रति असन्तुष्ट छन्। उनीहरुले त्रिविमा नयाँ पदाधिकारी नियुक्तिको केही दिनअघि गरिएको नियुक्ति गलत मनसायबाट भएको भन्दै आक्रोश पोखिरहेको एक प्राध्यापकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।