डडेल्धुरा- बैतडीको दशरथचन्द नगरपालिका-९ मा सडक निर्माणका विषयमा विवाद हुँदा भएको झडपमा परी ८ जना घाइते भएका छन्। नगरपालिकाको सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका बिषयमा विवाद हुँदा भएको झडप परि ८ जना घाइते भएका हुन्।
स्थानीय कृषक गौरा जोशीलाई एक्स्काभेटरबाटै आक्रमण भएपछि विवादले झडपको रुप लिएको हो। सडक लैजान नदिने पक्षका गौरा जोशी र सुरेशप्रसाद जोशी घाइते भएका छन् भने सडक निर्माण हुनुपर्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन्।
स्थानीयले मुआब्जा बिना आफ्नो जमिनमा एक्स्काभेटर चलाएको भन्दै विरोध जनाएका थिए। यता सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले सडक निर्माण गरिरहेको अवस्थामा एक्कासी एक्स्काभेटरमा ढुंगामुढा गर्दा झडप भएको बताए।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने एक्स्काभेटरको आक्रमणबाट गम्भीर घाइते भएकी जोशीलाई भने उपचारका लागि अन्यत्र रेफर गरिएको छ। पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भईरहेकोले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ।
एक्स्काभेटर चालक पक्राउ
बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा गाउँलेहरुबीच विवाद हुँदा एक्स्काभेटरले एक स्थानीय महिलालाई हुत्याउने एक्स्काभेटर चालक पक्राउ परेका छन्। एक्स्काभेटर चालकले महिलालाई एक्स्काभेटरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बोहरामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।