काठमाडौं- रोजगारीको सिलसिलामा भारत हुँदै कुवेत पुगेका ३ जना नेपाली महिला पक्राउ परेका छन्।
अवैध रुपमा भारतको दिल्ली हुँदै कुवेत पुगेका ति महिलाहरुलाई कुवेतबाट पक्राउ गरी दिल्ली फर्काइएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ।
भारत हुँदै कुवेत पुगेका महिलाहरुसँग नक्कली कागजात भएको अनुसन्धानबाट पत्ता लागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका महिलाहरु लक्ष्मी, शोभा र रुपा हुन्। उनीहरुको थर र ठेगाना भने खुलाइएको छैन।
रोजगारीका लागि खाडी मुलुक कुवेत जान भारत हिडेका उनीहरुसँग खाडी जान आवश्यक कागजात नभएको जनाइएको छ।
नेपाल एअरलाइन्सको फ्लाइटबाट नयाँदिल्ली उत्रिएका उनीहरू बहराइन हुँदै कुवेत पुगेका थिए।
उनीहरुलाई कुवेत पुर्याउन एअरलाइन्सका कर्मचारीहरुको सेटिङ हुन सक्ने आशंका गरिएको छ।
सो सम्बन्धमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यम अमर उजालाले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।