राजविराज- सप्तरी सदरमुकाम राजविराज–४, नेता चौकमा लुकाई राखिएको करिब डेढ लाख मूल्य बराबरको पटाका आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो।
यसअघि शुक्रबार सप्तरीकै बोदेबर्साईन नगरपालिका–९ देउरीवाट डेढ लाख तथा असोज ३० गते राति तिलाठी–कोईलाडी गाउँपालिका-१ स्थित बेल्हीबाट करिब २० हजार मूल्य बराबरको पटका बरामद भएको थियो। बेवारिसे अवस्थामा फेला परेको सो पटाका प्रहरी चौकी देउरी र तिलाठीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छन्।
भारतबाट नेपालतर्फ ल्याइने पटाका ओसार–पसारको सिलसिला यतिमा मात्रै सिमित छैन। दसैं सकिए लगत्तै तिहार र छठ पर्वलाई लक्षित गरी सप्तरीमा भारतीय क्षेत्रबाट अवैद्य रुपमा पटका भित्र्याउने क्रम बढेको छ। तस्करले नेपाल–भारत सिमाका विभिन्न नाका भएर पटकाजन्य वस्तुहरु भित्र्याउने गरेका छन्।
जिल्लाका तिलाठी, बननियाँ, श्वर्णपट्टी, कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर र औरहीलगायतका क्षेत्रबाट पटाका भित्र्याउने गरिएको छ। जसमध्ये केही मात्रामा प्रहरीले नियन्त्रण गरे पनि धेरैजसो पटाका सदरमुकाम राजविराज तथा मुख्य बजारसम्म पुग्ने गरेको छ। कतिपय अवस्थामा प्रहरीको आँखा छलेर र कतिपय अवस्थामा प्रहरीसँग कुरा मिलाएरै तस्करले पटका भित्र्याउने गरेको सिमानाका आसपासका स्थानीयहरु बताउँछन्। आइतवार साँझ सदरमुकाममै पक्राउ परेको पटाका त्यसैको उदाहरण हो।
किन हुन्छ पटाका तस्करी
तराई क्षेत्रमा तिहार र छठमा पटाकाको अत्यधिक खपत हुन्छ। बच्चादेखि वृद्धवृद्धासम्मले पटाका पड्काएर रमाईलो गर्ने प्रचलन बढेको छ। यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शारीरिक तथा मानसिक रुपमा असर गर्छ। आगजनी हुने, आँखा तथा कानमा चोट लाग्ने, हृदयाघात, रक्तचाप तथा दमको समस्या बढ्ने र छाला, स्वास र नाकको एलर्जीसमेत हुने भएपनि यसतर्फ खासै ध्यान दिएको पाईँदैन। रमाईलोकै लागि पटाका किन्ने र पड्काउने प्रचलन बढेको छ।
पटकाजज्य विष्फोटक पदार्थ आयातमा कडाई गरेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले दशैं अगावै सार्वजनिक गरेको ‘चाडपर्व लक्षित सुरक्षा कार्ययोजना’ मा चाडवाडको मौका छोपी सिमा क्षेत्रबाट आयात हुने पटका, भुईचम्पा, जस्ता अवैध समानहरूको आडमा हातहतियार र विष्फोटक पदार्थ ओसार–पसार हुन सक्ने आशंकासहित त्यसलाई कडाईका साथ नियन्त्रण गर्ने जनाएको थियो। तर, कार्ययोजना अनुसार काम नहुँदा पटाकाको अवैद्य आयात तिव्र रुपमा वढेको पाईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।