नदी वारपार गर्न बनाइएको अस्थायी काठे पुल।
धनगढी- कैलालीको भजनी नगरपालिकाको चारवटा वडा जोड्ने पुल १० वर्ष नाघिसक्दा समेत सम्पन्न हुन सकेको छैन। हुलाकी सडकअन्तर्गत विसं २०६६ सालमा ठेक्का भई सम्झौता भएको १० वर्ष पुग्दासमेत ३५ प्रतिशत काम पूरा भएको छैन।
भजनी नगरपालिका वडा नम्बर ३, ४, ५ र ८ स्थित १ सय ६६ घरधुरीका जनताले कान्द्रा नदीमा पुल नहुँदा ओहोरदोहोरका लागि समस्या झेलिरहेका हुन्। लामो समयदेखि स्थानीयको एउटै जिज्ञासा छ, ‘यो पुलको काम कहिले सकिन्छ? हामीले सहजैरुपमा आवतजावत गर्न पाउँछौं?’
भजनी नगरपालिका-३ का मानबहादुर चुनाराले भने, ‘हरेक वर्ष ठेकेदारले यसै वर्ष सम्पन्न गर्छु भनेर आश्वासन दिन्छन्। तर, निर्माण कार्य द्रुत गतिमा अघि बढाउँदैनन्।’
दुई वर्षको ठेक्का लिएर काम सुरु गरेको लामा शेर्पा जेभीले सडक विभागबाट पटक-पटक म्याद थप गरे पनि पुल निर्माण कार्य पूरा गर्न कुनै ध्यान नदिएको स्थानीयहरूको आरोप छ। नदीमा पुल नहुँदा स्थानीयहरु सामान्य सेवाबाट समेत वञ्चित भएका छन्। वर्षायाममा नदीमा डुंगासमेत चल्न नसक्ने हुँदा स्थानीयले थप सास्ती भोग्नु परिरहेको छ।
स्थानीय मानबहादुर साउदले भने, ‘निर्माण सम्झौता भएको १० वर्ष बित्दासम्म सम्बन्धित निकायले अनुगमन समेत गरेको छैन।’ उनले नदीमा पुल नहुँदा सबैभन्दा बढी विद्यार्थी, अशक्त, वृद्धवृद्धा तथ महिलाले बढी सास्ती भोगिरहेको बताए। उनका अनुसार नदीमापुल नहुँदा वर्षातको तीन महिनासम्म विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ।
वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन समेत गराइरहेका साउदले वर्षातको समयमा नदीमा डुंगा नचल्ने र नदीमा पानीको बहाव बढ्ने हुँदा विद्यालयमा पढाउन जानसमेत समस्या हुने गरेको बताए। 'बिरामीले स्वास्थ्य उपचार सेवासमेत पाउनसक्ने अवस्था छैन,' साउदको भनाइ छ।
उनले स्थानीय जनप्रतिनिधिलगायत राजनीतिक दलका नेताहरूलाई पटक-पटक समस्याबारे जानकारी गराए पनि हालसम्म कसैले सुनुवाई नगरेको गुनासो गरे।
ठेक्का पाएको निर्माण कम्पनी लामा शेर्पा जेभीले भने आयोजनाले नै ठेक्का सम्झौतापश्चात् डिजाइन परिवर्तन गरेकाले समयमा निर्माण सम्पन्न गर्न नसकेको दावी गरेको छ। कम्पनीका सब-इञ्जिनियर राधेश्याम शर्माका अनुसार करिब ३५ प्रतिशत पुलको काम भइसकेको र एक वर्षभित्र सबै काम सम्पन्न गरिनेछ।
विविध कारणले दुई/चार महिना म्याद थप्नु सामान्य रहे पनि निर्माण सुरु भएको करिब १० वर्ष पूरा हुँदासम्म पुल निर्माणको काम ३५ प्रतिशत पनि नहुनुमा निर्माण कम्पनीसँगै नियामक निकायको ठूलो कमजोरी रहेको स्थानीयको गुनासो छ।
हुलाकी सडक आयोजनाअन्तर्गत तीन करोड ४५ लाख २० हजारको लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मितिको सीमा नाघ्दासम्म कामको सुरुवातनै नगरेको स्थानीयले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।