रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी सुरु

राष्ट्रिय महोत्सवको रुपमा मनाउन सरकारसँग आग्रह गरिने
अजय शाह | २०७६ कार्तिक ३ आइतबार | Sunday, October 20, 2019 ०६:१३:०० मा प्रकाशित

जनकपुर- प्रत्येक वर्ष विशेष धुमधामका साथ जनकपुरधाममा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ।

यहि मंसिर १५ गते हुने विवाह पञ्चमी महोत्सवलाई भव्यता प्रदान गर्न जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ।

विवाह पञ्चमी महोत्सवमा यस वर्ष पनि अयोध्याबाट जन्ती आउने छन्। भारतबाट जन्ती आउने भएकाले भव्य तयारी गर्ने निर्णय गर्दै मेलालाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ। उपसमितिलाई विभिन्न कामकाज गर्नेगरी अधिकार दिइएको छ।

सर्वपक्षीय बैठकबाट स्वागत सत्कार उपसमिति, भोजन तथा आवास उपसमिति, शान्तिसुरक्षा उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, सरसफाई उपसमिति, स्वास्थ्य उपसमिति, प्रचार–प्रसार उपसमिति पनि गठन गरिएको छ।

जनकपुरधाममा मनाउने धार्मिक उत्सव तथा महोत्सवहरुमा विवाह पञ्चमी सबैभन्दा ठूला महोत्सव हो। तसर्थ जनकपुरधामको मात्र नभई नेपालकै ठूलो धार्मिक महोत्सव भएकाले यसलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउनका लागि नेपाल सरकारसँग आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ।

साताव्यापी यस महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन सीता-राम स्वयम्वर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरी विधिवत रुपमा विवाह पञ्चमीको समापन गरिन्छ।

यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ।