काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष सुनिता साह रिहा भएकी छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार साहलाई ५ हजार धरौटीमा रिहा गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी विरुद्ध भदौ २३ गते भएको प्रदर्शनमा नाम जोडेर साहलाई पक्राउ गरिएको थियो। नेपाली चेलीलाई विवाह गरेर चीनमा पु¥याई हिंसा गरिएको भन्दै चिनियाँ विदेशमन्त्री वाङ यी विरुद्ध उनीहरूले प्रदर्शन गरेका थिए।
राजविराज–६, खरसालटोलस्थित निवासबाटै असोज २४ गते पक्राउ परेकी साह विरुद्ध प्रहरीको कमलपोखरी वृत्तले अभद्र व्यवहारको मुद्दा चलाएको थियो।
रिहा भएर गृह जिल्ला सप्तरी आएकी साहलाई शुक्रबार राजविराजमा पिछडावर्ग महासंघ र वैस्य युवा समाजले विमानस्थलमै पुगेर स्वागत गरेका छन्। फूल माला र अविर जात्रा गरेर साहलाई राजविराज ल्याइएको छ।
समाजवादी पार्टीबाट सञ्जालमा नेतृत्व गरिरहेकी साह पक्राउ परेपछि पार्टीका जिल्ला अध्यक्ष केदार यादवले भोलिपल्टै (शनिबार) प्रेस विज्ञप्ति जारी गरी उनी पार्टीको सदस्य नै नरहेको दाबी गरेका थिए।
गत बैसाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपाललको प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएकी र प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा समेत नाम रहेकी साहलाई पार्टीको सदस्यनै नभएको भन्दै जारी भएको विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।