सर्विया- अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४१औं सम्मेलनमा सहभागी हुन सर्वियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको छ।
'नेपाल भ्रमण वर्ष २०२०'को अवसरमा नेपाल भ्रमणको निम्तो तथा नेपाल सरकारले तयार पारेको प्रवर्द्धन सामाग्री हस्तान्तरण गरिएको हो। आइपियूमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसद्को प्रतिनिधिमण्डल बेलग्रेडमा छ। सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल भ्रमणका लागि सहभागीहरुलाई निम्तो दिएका हुन्।
प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन्।
त्यसैगरी, संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल पनि सहभागी भएका छन्।
नेपाल लगायत १ सय ७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य भएको आइपियूको १४१ औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।