तेहरान- इरानमा एक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६६ जनाको मृत्यु भएको छ।
दि एसम्यान एयरलाइन्सको एटीआर ७२–५०० विमान राजधानी तेहरानबाट दक्षिण पश्चिम शहर यासुज जाँदै गर्दा मध्य इरानको जाग्रोस पहाडमा ठोक्किएर दुर्घटना भएको हो।
सरकारका प्रवक्ताले सबै आपतकालीन सेवा तथा निकायहरुलाई खटाइएको बताए। उनका अनुसार इसफाहन प्रान्तको सेमिरोम शहरबाट घटनास्थलमा खोजी तथा उद्दारका लागि रेडक्रस तथा सेनाको टोलीलाई पठाइएको छ।

स्थानीय अधिकारीहरुले भने खराब मौसमका कारण हेलिकप्टरबाट खोजी तथा उद्दार गर्न समस्या भइरहेको बताएका छन्।
विमानले आज स्थानीय समय अनुसार बिहान ५ बजे तेहरानबाट उडान भरेको थियो। एयरलाइन्सका अधिकारीहरुले उडान भरेको केही समयपछि राडारसँग विमानको सम्पर्क टुटेको जनाएका छन्।
दुर्घटनामा गरेको विमान २० वर्षभन्दा पुरानो भएको बताइएको छ।
एयरलाइन्सका अनुसार विमानमा ६ जना चालक दलका सदस्यसहित ६६ जना सवार रहेकोमा सबैको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।