वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआईले गरेको अनुसन्धान एकपक्षीय भएको बताएका छन्।
सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र केही संस्थाकै हात रहेको आरोप उक्त ब्युरोले लगाएको थियो।
विशेष अनुसन्धान भइरहेको भनिएको सो घटनाको बारेमा अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका थिए।
यो कार्य एकदमै नियोजित तथा आफ्ना विरुद्धमा एकपक्षीय भएको आरोप राष्ट्रपति ट्रम्पले लगाएका छन्। उनले ट्वीटमा लेखेका छन्,‘जुन कुराको अनुसन्धान गर्न आवश्यक थिएन यस्तो कुरामा एफबिआई लाग्यो र यसले मेरो निर्वाचनसम्बन्धी कार्यक्रम र समूहको बदनाम गर्ने मात्र काम गर्यो।’
एफबिआईले एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको पक्षमा धाँधलीपूर्ण काम गरेको आरोप लगाएको छ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो। उक्त संस्थाको पछिल्लो प्रतिवेदन पनि यसैलाई पुष्टी गर्ने खालको आएको बताइएको छ।
उक्त निर्वाचनमा रुसको एक इन्टरनेट समूह ‘ट्रोल फार्म’ को हात रहेको पाइएको अमेरिकाको भनाई छ। सो इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जितको सम्भावनाका बारे देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारका माध्यममार्फत देशव्यापी बनाएका थिए।
उता राष्ट्रपति ट्रम्पले फ्लोरिडाको विद्यालयमा हालै भएको हत्याकाण्डको कुनै पनि सूचना प्राप्त गर्न नसकेको भनी एफबिआईको कडा आलोचना गरेका छन्।
उनेले भने,‘एफबिआईले हत्याराको बारेमा एउटा मात्र संकेत बुझ्न नसक्दा यस्तो दुर्घटना हुन पुगेको छ। उसले समयमै यसको संकेत बुझेको भए यो दुर्घटना टर्न सक्दथ्यो।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।