कान्दाहार- अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबानी लडाकु मारिएका छन्।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो। उक्त स्थानमा लुकरे बसेका तालिबानकाविरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो।
शनिबार बिहानैदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी अरु दर्जनौँ घाइते भएका पनि जनाइएको छ ।
कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता अब्दुल रजाकले भने,‘शनिबार साँझ मियावान्द जिल्लामा गरिएको सुरक्षा कारबाहीमा आतंककारीहरुका आश्रयस्थल ध्वस्त बनाइएको र त्यहाँ राखिएका हतियारहरु पनि बरामद गरिएको छ।’
सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थिति रहेको बताइन्छ। तालिबानले केही समयअघि सो क्षेत्रमा गरेको आत्मघाती आक्रमणमा परी केही सुरक्षाकर्मी पनि मारिएका थिए।
उनीहरु लुकेर बसेको सूचनाका आधारमा सेनाले बिगत केही समयदेखि यहाँ कारबाही जारी राखेको छ। यस कारबाहीका क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।