काठमाडौं– मर्मतका लागि मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्र सातदेखि बढी दस दिनसम्म बन्द हुने भएको छ।
७० मेगावाट क्षमताको केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षय रोक्न राखिएको संरचनाको मर्मतका लागि फागुन १० गतदेखि बन्द गर्न लागिएको हो।
मध्य मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले लोडसेडिङ भने गर्नुनपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। तर, यसबाट प्रणालीमा कुनै समस्या आएमा विद्युत् आपूर्ति कतिपय स्थानमा कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रस्ट पारेका छन्।
उनले भने, ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत् गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोबस्त गरिसकेका छौं।’
कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ।
मध्य मर्स्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ। थप क्षति रोक्न मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।
‘गत वर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’, उनले भने, ‘यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्नेगरी एलडिसीबाट सट डाउन पाएका छौं।’
मर्मतको काम २४ सै घन्टा तीन सिफ्टमा सञ्चालन हुने गौतमले जानकारी दिए।
केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र बिहान ७० मेगावाट र अन्य समयमा करिब ३० मेगावाट विद्युत् उत्पादन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।